काठमाडौँ, २३ भदौ । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेलाई निलम्बन गरेको छ ।
१७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका लामिछानेलाई क्यानले निलम्बन गरेको कार्यवाहक सचिव प्रशान्त विक्रम शाहले प्रेस विज्ञप्तिमार्फत् जानकारी दिएका छन् ।
भदौ ५ गते काठमाडौँको एक होटलमा पुर्याएर नाबालिगलाई पटक–पटक बलात्कार गरेको लामिछानेमाथि आरोप छ । आफूमाथि बलात्कार गरेको भन्दै पीडितले मंगलबार प्रहरी वृत्त गौशालामा पुगेर जाहेरी दिएकी थिइन् ।
जाहेरी परेसँगै प्रहरीले अनुसन्धान अघि बढाएको थियो । उनीविरूद्ध प्रहरीले काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति पनि लिएको छ ।
अदालतबाट पक्राउ पुर्जी जारी गरेपछि क्यानले लामिछानेलाई निलम्बन गरेको हो ।
‘काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जीसमेत जारी भएको अवस्थामा नेपाल क्रिकेट संघको कार्यसम्पादन समितिको निर्णयअनुसार सन्दीप लामिछानेलाई राष्ट्रिय क्रिकेट टिमबाट निलम्बन गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
