एकाएक किन ताते बालेन ?

515

काठमाडौँ, ९ भदौ । पछिल्लो २४ घन्टा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) चर्चामा रहे । बलिउड फिल्न नायकका अभिनेता अनिल कपुरसँग सर्वसाधारणले बालेनको तुलना गरिरहेका छन् ।

गत वैशाखमा सम्मपन्न स्थानीय तह निर्वाचनमा पुराना भनिएका राजनीतिक दलहरू कांग्रेस, एमालेलगायतका दलका उम्मेदवारलाई भारी मत अन्तरले पराजित गर्दै बालेन मेयरमा निर्वाचित भएका थिए ।

कांग्रेस, एमालेलगायतका दलहरुले जनताको अपेक्षा बमोजिम महानगरमा काम गर्न नसकिरहेको भन्दै आलोचना भइरहँदा बालेनले नगरबासीको मन जितेका थिए । तर, निर्वाचित भएको चार महिना भइसक्दा मेयर साहबाट उल्लेख्य कार्यसम्पादन नभएको भन्दै आलोचना भइरहेको थियो ।

केही दिनअघिसम्म काठमाडौँका चोक र सडकमा फोहरको डंगुर थुप्रिएको थियो जसको व्यवस्थापन गर्न नसकेको भन्दै मेयर साहको चर्को आलोचना भइरहेको थियो ।

काठमाडौँ, धरान र धनगढीसहितका कतिपय मुख्य सहरहरुमा स्वतन्त्र उम्मेदवारहरूले चुनाव जितेको र आगामी निर्वाचनमा पनि स्वतन्त्रहरुको पल्ला भारी हुने चर्चा जारी रहँदा काठमाडौँका मेयर साहको कार्यसम्पादन कमजोर देखिएको थियो । यसअघि काठमाडौँमा यति लामो समय फोहरको समस्या भोग्नु नपरेको भन्दै भन्दै नगरबासीले साहको आलोचना गरिरहेका थिए ।

धरानबासीलाई पानी खुवाउने नारा दिएर धरान उपमहानगरमा निर्वाचित हर्क साम्पाङ भने निर्वाचन अघिभन्दा अहिले चर्चाको शिखरमा रहेका थिए । श्रमदान गरेर चर्चामा रहेका उनले साहमाथि सामाजिक सञ्जालबाट बेलाबेला शब्दवाण प्रहार गरिरहेका थिए । तर, पछिल्लो २४ घन्टामा काठमाडौँका मेयर साह यस्तो रूपमा देखा परे जसले गर्दा उनको यसअघि कमजोर जस्तो देखिएको कार्यसम्पादन बलियो देखिएको छ ।

सामाजिक सञ्जालमा उनी अहिले हटकेक बनेका छन् । चुनावअघि जस्तै अहिले चोक, चियापसल, सामाजिक सञ्जालमा उनकै चर्चा छ । साहले बलिउड फिल्म नायकको शैलीमा भटाभट काम गरेको भन्दै यस्तै कामको अपेक्षा नगरबासीले गरेको र त्यसलाई साहले पूरा गर्ने संकेत गरेको भन्दै प्रशंसा भइरहेको छ ।

सरकारी पारामा हुने गरेको कामकाबीच मेयर साह एकाएक नायक शैलीमा छाएका हुन् ।

काठमाडौँमा पार्किङको समस्या छ । तर, व्यापारीक प्रयोजनका लागि बनेका भनवहरूले भने पार्किङका लागि अनुमति पाएका स्थानमा व्यवसाय सञ्चालनका लागि भाडामा लगाइरहेका थिए । जसलाई साहले तोडेका छन् । ३५ दिनअघि सूचना जारी गरेका उनले ३६औँ दिनदेखि डोजर लिएर मैदानमा उत्रिए । कानुनविपरीत भएका संरचनामा उनले डोजर चलाएका छन् जसको यतिबेला वाहवाही भइरहेको छ ।

बालेनमा जसरी भए पनि काम गर्नु पर्ने चुनौती थियो किनकि उनीमाथि नगरबासीले विकासको अपेक्षा गर्दै मत खन्याएका थिए । उनले आफूलाई कमजोर नदेखाउनका लागि पनि केही गरेर देखाउनु पर्ने चुनौती थियो जसलाई उनले डोजरको सहायतले केही गरेर देखाउने हुटहुटी रहेको देखाउन खोजेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...