काठमाडौँ, २६ साउन । युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले बाराको जितपुरमा रहेको सिमरा रंगशालाको निरीक्षण गरेका छन्।
मधेस प्रदेशअन्तर्गत जितपुर सिमरा उपमहानगरपालिकामा रहेको उक्त मैदानको निरीक्षणका लागि बिहीबार सिमरा पुगेका मन्त्री गहतराजले मैदानको भौतिक संरचना र निर्माण पक्षको बारेमा समेत जानकारी लिए ।
करिब १४ बिगाहा क्षेत्रफलमा फैलिएको सिमरा रंगशालाको निर्माणाधीन प्याराफिटको अनुगमन गर्दै मन्त्री गहतराजले बाँकी रहेको निर्माण कार्यलाई चाँडै अगाडि बढाइने बताए ।

काठमाडौँदेखि सबैभन्दा नजिकको दुरीमा रहेको सिमरा रंगशाला निर्माण सम्पन्न भए राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिताहरू सञ्चालनमा सहजता हुने बताउँदै मन्त्री गहतराजले उक्त रंगशालाको विशेष महत्व रहेको उल्लेख गरे ।
“रंगशाला निर्माणकालागि स्थानीय स्तरबाट भएको प्रयास सरहानीय छ, यसको पूर्णताका लागि अझै प्रयास गर्नुपर्ने देखिन्छ,” उनले भने, “रंगशालाको पूर्णताका लागि आर्थिक स्रोत सुनिश्चितताको आधार खोज्न मन्त्रालय प्रतिवद्ध भएर लाग्छ, ढुक्क हुनुहोस् ।”
उनले सिमरा रंगशालाभित्र खेलकुदका अन्य संरचना निर्माणको सम्भाव्यतासमेत अध्ययन गरेर अगाडि बढिने बताए ।
सिमरा रंगशालालाई केन्द्र सरकारले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै मन्त्री अथकले खेलकुदको हबका रुपमा सिमरालाई विकास गर्न दीर्घकालीन रणनीति बनाउनु पर्नेमा समेत जोड दिए ।