काठमाडौँ, २६ साउन । पुनर्जागरण पार्टीका महामन्त्री रविकिरण हमालले नेपाली जनता लोकतान्त्रिक सरकार नभई योग्य सरकारको खोजीमा रहेको बताएका छन् ।
नेपालको राजनैतिक दलहरूले लोकतन्त्रलाई चुनावमा सीमित गर्ने गम्भीर खतरालाई औल्याउँदै महामन्त्री हमालले पछिल्लो ५० वर्षयता नेपाली जनता योग्य सरकारको व्यग्र प्रतीक्षा रहेको बताए ।
केही समय अगाडि महामन्त्री हमालले पुनर्जागरण बिना नेपालको संविधान कागजको खोस्टाको रूपमा सीमित हुने अभिव्यक्ति दिएका थिए ।
रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री हमालले संविधान बनेको झन्डै दशक समय बितिसक्दा समेत नेपाली जनताको गरिबी, वेरोजगारी, भ्रष्टाचार, युवाशक्ति पलायन र परनिर्भरता जस्ता समस्याहरू हल नभएको आरोप लगाए ।
आज फुटपाथमा मैकै बेच्ने मानिसहरूको कारणले देश बिग्रेको हो ? किरणले प्रश्न गरेका छन् । “आज एउटा ठुलो जमात छ जसले नेता मानिरहेकाहरूका कारण देश यस्तो अवस्थामा छ,” हमालले आक्रोश पोख्दै भने ।
पुनर्जागरणको पहिलो प्रारम्भ डिभोर्सबाट हुने पनि उनले बताए । वर्तमान राजनैतिक नेतृत्व, प्रवृत्ति र चिन्तनसँग सम्बन्धबिच्छेद नगरेसम्म देशलाई सुमार्गमा हिँडाउन नसकिने उनको दाबी छ ।