प्रधानमन्त्री देउवालाई खनालले भने– सिट बाँडफाँडमा अपमान गरे तालमेल हुँदैन

72

काठमाडौँ, २४ साउन । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सिट बाँडफाँडमा अपमान गरिए तालमेल नहुने चेतावनी दिएका छन् ।

मंगलबार प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको भेटमा नेता खनालले यस्तो चेतावनी दिएका हुन् । निर्वाचनमा गठबन्धन गरेर जाँदा सबै दललाई समान ढंगले सिट बाँडफाँड हुनुपर्ने बताएका छन् ।

उनले गठबन्धनमा सहभागी दललाई अपमान गरेमा तालमेल नहुने भन्दै सबै दललाई समान रूपमा बाँडफाँड गर्ने बुटी खोजेर बढ्नुपर्ने बताए ।

नेता खनालले सिट बाँडफाँड न्यायोचित हुनुपर्ने भन्दै दुईवटा आधार अघि सारेका छन् । २०७४ सालको निर्वाचन र हालै सम्पन्न स्थानीय निर्वाचनको परिणामलाई सन्दर्भ सामग्री बनाउनुपर्ने उनको माग छ ।

साथै उनले प्रधानमन्त्रीसँगको भेटमा कार्यदललाई चाँडो काम गर्न लगाएर सिट तालमेलको मोडालिटीबारे प्रष्ट हुनुपर्ने बताए ।

गत साउन २० गते बसेको गठबन्धनको बैठकले ११ सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलमा नेपाली कांग्रेसबाट महामन्त्री गगनकुमार थापा, कृष्णप्रसाद सिटौला र ज्ञानेन्द्रबहादुर कार्की, नेकपा (माओवादी केन्द्र)बाट जनार्दन शर्मा र वर्षमान पुन, नेकपा (एकीकृत समाजवादी)बाट महासचिव वेदुराम भुसाल र प्रमेश हमाल, जनता समाजवादी पार्टीबाट रामसहायप्रसाद यादव र रमक चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् ।

Share This:
सम्बन्धित खबर
Loading...