काठमाडौँ, २२ साउन । नेकपा (एमाले)का उपमहासचिव एवम् सांसद् प्रदीप ज्ञवालीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा महाअभियोगका भागिदार नै रहेको बताएका छन् ।
प्रतिनिधिसभाअन्तर्गत आजको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । ‘उनी महाअभियोगको भागिदार हुन् । यो हामीले संसद्को बैठकमा पटक–पटक उठाएको हो । हामीले गहिरो छानबिन गरौँ भनिरहेकै थियौँ,’ उनले भने, ‘तर, यो ढंगले होइन ? यसप्रकारको प्रतिशोध साँध्ने गरी होइन ।’
उनले जसरी पनि अमुक व्यक्तिलाई निलम्बन गर्नैपर्ने नियतले यो सरकार लागेको बताए । ‘यो ढंगले कुनै पनि मुद्दा झुन्ड्याउन मिल्दैन । सनको बैठक अन्त्य हुने बेलामा यो ल्याइएको छ,’ उनले थपे, ‘नियमित सरकारको जस्तो बिजनेस दिएर सदन चलाउनु हुँदैन ।’
फागुन २९ गते दर्ता भएको महाअभियोग सामान्यतयाः तीन महिनामा टुंगिनुपर्नेमा अहिले आएर प्रक्रिया सुरू गर्नुले गलत नियत देखिएको सांसद् ज्ञवालीले बताए ।
‘नेपालीमा एक उखान छ । दिन उजेली सुती गुमाई रात उजेली बिस्कुन सुकाई,’ उनले भने, ‘दिनभरित यो सरकार सुतेर बस्यो, अब सदनले तीन महिना पाउँछ कि पाउँदैन ।’
यस्तै, ज्ञवालीले अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि संसदीय समितिको प्रतिवेदन अपुरो भएको बताए । उनले अर्थमन्त्रालयमा अहिले सचिवमा कोही जान नमानिरहेको टिप्पणी गरे ।
‘अर्थ मन्त्रालयमा अर्थसचिवको रूपमा कोही जान मानिरहेका छैनन् । राजश्व सचिवलाई नै अर्थसचिवको जिम्मेवारी दिइएको छ । कुनै बेला त्यहाँ सचिवहरू जान हानथाप हुन्थ्यो तर सरकारको गतिविधिका कारणले कर्मचारी सरूवा माग्नेदेखि जानै नमान्ने अवस्था छ,’ उनले भने ।
देशको अर्थतन्त्र गम्भीर अवस्थामा पुग्दासमेत सरकार मौन बसेको टिप्पणी गरे ।