काभ्रेस्थली घटना : दिनेश पाण्डेको सुसाइड नोट– छोराछोरीको माया लागेर सँगै लैजान हत्या गरे

177

काठमाडौँ, १७ साउन । काठमाडौँको तारकेश्वर नगरपालिका–२ स्थित पदमसालमा सोमबार बिहान एकै परिवारका ४ जनाको हत्या भएको अवस्थामा शव फेला पर्‍यो । गोरखाको भिमसेन थापा गाउँपालिका–६ आश्राङका ४१ वर्षीय दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षीया सुनिता पाण्डे, १३ वर्षीया छोरी आशिका पाण्डे र ८ वर्षीय छोरा आशिक पाण्डेको हत्या भएको अवस्थामा शव फेला परेको हो ।

सोमबार बिहान विद्यालय जाने समयमा छोरी घरबाट बाहिर ननिस्किएपछि सोधखोज गर्दा उनी मृत भेटिएका थिए । पदमसालस्थित एक तले घरमा दिनेशको छोरी ८ बजे विद्यालय जानु पर्नेमा नआएकाले छिमेकीमार्फत् खबर गर्दा घरको झ्याल ढोका बन्द रहेको सूचना पाउनसाथ प्रहरी घटनास्थल पुगेका थिए ।

प्रहरीले घरभित्र पसेर हेर्दा दिनेशकी श्रीमती सुनितासहित छोरी आशिका र छोरा आशिकको शव एउटै कोठामा विभत्स अवस्थामा फेला परेको थियो । आशिका र आशिकको शव खाटमा र सुनिताको शव भुइँमा लडेको अवस्थामा प्रहरीले फेला परेको थियो । उनीहरु सबैको शरीरमा धारिलो वस्तु (हतियार)ले प्रहार गरेको चोट देखिएको छ । दिनेशको शव भने घाँटीमा डोरी (तार)ले कसेको अवस्थामा भेटिएको थियो ।

प्रहरीले घटनास्थलमा ‘सुसाइड नोट’ समेत फेला पारेको छ । ५÷६ पेज लामो नोट अहिले प्रहरीले अनुसन्धान गरिरहेको छ । नोट दिनेशले लेखेको खुलेको छ । सुसाइट नोटमा श्रीमतीले आफूमाथि धेरै नै ज्यादति गरेको र श्रीमतीको ज्यादति सहन नसकेर आफूसहित परिवारका सदस्यको हत्या गर्न बाध्य भएको लेखिएको छ ।

सुसाइड नोटमा ‘सेक्स’ देखि आर्थिक पाटो र आशंका लेखिएको अनुसन्धानमा संलग्न एक प्रहरीले जानकारी दिए । “धेरै लामो सुसाइड नोट छ । त्यहाँ शंका गर्ने गरेको। एकले अर्कोलाई बिहेइतरका सम्बन्ध देखाएर शंका गर्ने गरेको उल्लेख गरिएको छ,’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले सुनाए ।

प्रहरी र आफन्तको जानकारी अनुसार उनीहरुबीच डिभोर्सको समेत कुरा चलेको थियो । तारकेश्वरमा भएको घर बेच्ने विषयलाई लिएर पनि श्रीमान् श्रीमतीबीच विवाद हुने गरेको देखिएको छ । आफूले १२ वर्ष विदेशमा कमाएको सम्पत्ति पनि माइतीलाई दिएको र आफूलाई विभिन्न केसमा पुलिस चौकीमा पुर्‍याएकाले घटना गरेको दिनेशले सुसाइड नोटमा उल्लेख गरेका छन् ।

श्रीमती सुनिताले आफूलाई वास्ता नगर्ने तर अरु (परपुरुष)सँग घन्टौँ फोनमा कुरा गर्ने गरेको पनि दिनेशले सुसाइड नोटमा लेखेको प्रहरी स्रोतको भनाइ छ ।

“ट्वाइलेट जाँदा पनि फोनसँगै लिएर जाने, ट्वाइलेटमै बसेर कुरा गर्ने । मलाई वास्ता नगर्ने गर्थिन्,” सुसाइड नोटमा उल्लेखित विषय उद्धृत गर्दै प्रहरी स्रोतले भन्यो ।

सुसाइड नोटमा दिनेशले १३ वर्षीया छोरी र ८ वर्षीय छोराको भने ‘माया लागेर आफूसँगै लैजान’ हत्या गरेको लेखेका छन् ।

घटनाको प्रारम्भिक अनुसन्धानबाट दिनेशले सुरुमा श्रीमती तथा छोराछोरीको हत्या गरेपछि आत्महत्या गरेको देखिएको प्रहरीको भनाइ छ । मृत्युको यकिन कारण भने पोस्टमार्टमपछि मात्रै खुल्ने प्रहरीको भनाइ छ ।

चारैजनाको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको छ ।

याे पनि हेर्नुस् 

काभ्रेस्थली घटना : फेला पर्‍यो सुसाइड नोट

काठमाडौँमा एकै परिवारका ४ जना मृत फेला, हत्याको आशंका

Share This:
सम्बन्धित खबर
Loading...