संसदीय विशेष समितिको प्रतिवेदन मान्य छैन : ओली

118

काठमाडौँ, १५ साउन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिको प्रतिवेदनलाई मान्न नसकिने बताएका छन् । शनिबार राष्ट्रिय युवा संघको कार्यक्रममा उनले बहुमत र अल्पमतको आधारमा प्रतिवेदन ल्याइएकाले संसदीय समितिको प्रतिवेदन मान्न नसकिने बताएका हुन् ।

बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेशबारे छानबिन गर्न गठित ११ सदस्यीय संसदीय टोलीमा एमालेका ४ जना र बाँकी नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका सांसद्हरु थिए ।

ओलीले सत्तारुढ गठबन्धनको बहुमत हुने गरी संसदीय समिति बनाइएको आरोप लगाए । “११ जनाको समिति बनाउने ७ जना आफ्ना राख्ने, हुन्छ हुन्न भनेर रिपोर्ट ल्याउने ?” ओलीले प्रश्न गरे, “यो तथ्यमा आधारित रिपोर्ट होइन, त्यसलाई मान्न सक्ने कुरा हुन्न, नेपाली जनताले अस्वीकार गर्नुपर्छ ।”

अध्यक्ष ओलीले पनि फुटेज मेटाउने र कल डिटेल हेर्न मिल्दैन भन्ने कुराले समितिकै कामप्रति शंका उब्जिएको बताए । उनले गठबन्धनको सरकार देशका लागि अभिसाप भएको समेत टिप्पणी गरे ।

“यसले राष्ट्रियता कमजोर पारिरहेको छ, लोकतन्त्रलाई कमजोर पार्छ । यो ढाटहरुको कर छलीहरुको गठबन्धन हो,” उनले भने, “हामीले आगामी निर्वाचनमा सानदार बहुमत ल्याएर सरकार बनाउनुपर्छ । यो देश बचाउनु छ, जोगाउनु छ ।”

Share This:
सम्बन्धित खबर
Loading...