नेपाल कुनै पनि सैन्य गठबन्धनमा सामेल हुँदैन : मन्त्री खड्का

92

काठमाडौँ, १३ साउन । नेपाल कुनै पनि सैन्य तथा सामरिक गठबन्धनमा सहभागी नहुने परराष्ट्रमन्त्री डा.नारायण खड्काले बताएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा सांसद्ले उठाएका प्रश्नको जबाफ दिँदै मन्त्री खड्काले नेपाल कुनै पनि सैन्य गठबन्धनमा सहभागी नहुने बताएका हुन् ।

‘कुनै पनि देशसँग सामरिक गठबन्धन, सैन्य गठबन्धन नेपालको हितमा हुँदैन,’ परराष्ट्रमन्त्री खड्काले भने, ‘त्यसैले नेपाल कुनै पनि सैन्य, सामरिक सुरक्षाका गठबन्धनमा सहभागी हुँदैन, सहभागी नहुने सरकारको तर्फबाट प्रतिबद्धता गर्दछु ।’

सांसद्हरुले एसपीपीमा सहभागी नहुने भनेर अमेरिकालाई पठाएको पत्र सार्वजनिक गर्न माग गरेका थिए । त्यसको जबाफ दिँदै मन्त्री खड्काले सरकारको निर्णयलाई विश्वास गर्न आग्रह गरे ।

‘मन्त्रिपरिषद्को निर्णयमा संशय, आशंका गरिरहेका छौँ । सरकारका निर्णयबारे पनि आशंका गदैँ गयौँ भने राज्य सञ्चालनमा सघाउ पुर्‍याउँदैन,’ उनले भने, ‘कतिपय ‘डकुमेन्ट’ केही समय राखिन्छन् र पछि सार्वजनिक गरिन्छन् । तैपनि यो त्यति ‘सेन्सेटिभ डकुमेन्ट’ त होइन । सरकारलाई विश्वास गर्न आग्रह गर्दछु ।’

त्यस्तै, सांसद्हरुले अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुको नेपाल भ्रमणका विाषयमा पनि प्रश्न गरेका थिए । त्यसको जबाफ दिँदै मन्त्री खड्काले भने, ‘आज अमेरिकी सहायक विदेशमन्त्री लुसँग भेट गर्ने कार्यक्रम छ, त्यसमा एसपीपी, आइपीएस आदि इत्यादिका कुरा हुँदैनन् ।’

Share This:
सम्बन्धित खबर
Loading...