मंकीपक्स के हो ? कसरी सर्छ ?

381

काठमाडौँ, ८ साउन । बढ्दो मंकीपक्सको संक्रमणलाई लिएर विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ । भारतमा समेत संक्रमण देखिएकाले नेपाल पनि यसबाट अछुतो नरहन सक्छ ।

डब्लुएचओले विश्वव्यापी स्वास्थ्य आपतकाल नै घोषणा गरिसकेको अवस्थामा मंकीपक्सबारे जानकारी राख्न र सतर्कता अपनाउन आवश्यक देखिएको छ ।

डब्लुएचओका अनुसार मंकीपक्स एउटा दुर्लभ किसिमको रोग हो, जुन मंकीपक्स नामक भाइरसका कारण हुन्छ । यो भाइरस दादुरा गराउने बेरियोला भइरसकै प्रजातिसँग सम्बन्धित ‘अर्थोपक्स’ वंशको हो ।

मंकीपक्स सन् १९५८ मा बाँदर प्रजातिमा पहिलो पटक देखिएको थियो । यो हेर्दा बिफर जस्तो, ठेउला, जस्तो देखिने रोग हो । यो मंकीपक्स भन्ने भाइरसले गराउँछ जुन western African stain र central African stain गरी दुई प्रकारको हुन्छ । यो अफ्रिकी मुलुकमा सन् १९७० देखि नै देखिएको भाइरस हो । त्योबेलादेखि २०१७ सम्म सोही मुलुकहरुमा पटक पटक आउटब्रेक भएको देखिन्छ । सन् २००३ मा मात्र यो पहिलो पटक अफ्रिकी मुलुक बाहिर अमेरिकामा देखियो ।

त्यसपछि क्रमशः २०२१ सम्म इजरायलका साथै बेलायत, अमेरिका, सिंगापुरमा फैलिँदै गयो । २०२१ सम्म यी मुलुकमा फैलेको मंकीपक्स अफ्रिकी मुलुकबाट आएका मानिस वा जनावरको सम्पर्कले भएको थियो भने अहिले २०२२ मा यो अफ्रिकी मुलुकको सम्पर्क बिना नै २० भन्दा धेरै देशका २०० जनामा फैलिसकेको छ जुन चिन्ता र अनुसन्धानको विषय बनेको छ ।

कहाँ–कहाँ फैलिरहेको छ ?

मंकीपक्सको संक्रमण अहिले विश्वभर फैलिएको छ । अहिलेसम्म यसबाट १६ हजार १६ जना संक्रमित छन् । जसमध्ये पछिल्लो एक सातामा मात्र ४ हजार १३२ नयाँ संक्रमित थपिएका छन् ।

अहिलेसम्म विश्वका ७५ मुलुकमा यो संक्रमण फैलिएको छ । जसमध्ये सबैभन्दा धेरै संक्रमण युरोपेली मुलुकमा छ । युरोपेली मुलुकमा अहिलेसम्म यसका ११ हजार ८६५ संक्रमित फेला परेका छन् । पछिल्लो सात दिनमा यो क्षेत्रमा २ हजार ७०५ नयाँ संक्रमित थपिएका छन् ।

यो रोग कसरी सर्छ ?

मुसा, बाँदर, (गिल्हरी)जस्ता जनावरहरुमा यो भाइरस बस्ने गर्दछ र यी जनावरहरुको सम्पर्कमा आउँदा यो रोग सर्न सक्छ । श्वासप्रश्वास, संक्रमित छालाको सम्पर्कले मानिसदेखि मानिसमा पनि यो रोग सर्न सक्छ । त्यसैगरी गर्भवती आमादेखि बच्चामा पनि सर्न सक्छ । यौन सम्पर्कबाट सर्छ सर्दैन भन्ने अझै यकिन भैसकेको छैन तर यो समलिङ्गी समाजमा भने बढी देखिएको छ ।

अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)का अनुसार यो संक्रमण अर्को मानिसमा सर्न ठुलो मात्रामा जीवाणु अर्को मानिसको शरीरमा प्रवेश गर्नुपर्ने हुन्छ । त्यसैले यो संक्रमण केही पर रहेको व्यक्तिबाट हावाको माध्यमबाट सर्ने सम्भावना कम हुन्छ ।

यद्यपि छालामा छाला जोडिने किसिमको सम्पर्क, एउटै कपडा, खाट प्रयोग गर्ने, जुठो खानेजस्ता कार्यबाट भने मंकीपक्स सर्ने सम्भावना हुन्छ ।

मंकीपक्सका लक्षणहरु

मंकीपक्सका लक्षणहरु दादुरासँग मिल्ने खालका छन् । यसको संक्रमण भएका व्यक्तिमा ज्वरो आउने, मांशपेशीमा दुखाइ हुने, सुन्निने, टाउको दुख्ने, जाडो महसुस हुने र थकान लाग्ने लक्षण देखिन्छन् ।

दादुराको संक्रमण हुँदाजस्तै मंकीपक्समा पनि पूरै शरीरमा फोका देखिन सक्छन् । यी फोकामा परिवर्तनहरु पनि देखिन्छ । फोका देखिएको ठाउँ सुनिन्छ । तर, मंकीपक्स दादुराभन्दा कम खतरनाक हुने बताइएको छ ।

कसरी थाहा पाउने संक्रमण ?

मंकीपक्स भाइरस पोलिमरेन्ज चेन रिएक्सन (पीसीआर) प्रयोगशाला परीक्षणबाट पत्ता लगाउन सकिन्छ । शरीरमा भएका फोकाबाट लिइएको नमुना परीक्षण गर्नु सबैभन्दा उत्तम हुन्छ । त्यस्तो नमुना छाला, तरल पदार्थ, क्रस्ट वा बायोप्सीबाट निकाल्न सकिन्छ । एन्टीजेन र एन्टीबडीको परीक्षण गर्ने उपाय उपयोगी हुँदैन, किनकि यो उपायबाट अर्थोपक्सबिरसबीचको फरक पत्ता लगाउन सकिँदैन ।

उपचार के हो ?

हालसम्म मंकीपक्सको उपचारका लागि कुनै पनि औषधि बनेको छैन । तर, पुराना केही खोपले यो संक्रमण नियन्त्रण गर्न सक्ने वैज्ञानिकहरुले बताएका छन् ।

विश्वभर देखिइरहेको संक्रमण कम गर्न संक्रमितहरुलाई दादुराकै खोप लगाइएको छ । यो खोप मंकीपक्स रोक्न ८५ प्रतिशतसम्म सफल भएको पाइएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...