धरान । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ)को खानेपानी अभियानअन्तर्गत पकुवा खोलाबाट खानेपानी धरान ल्याउने अभियानको काम ९९ प्रतिशत पूरा भएको छ । मेयर साम्पाङले आज पकुवा खोलामा सञ्चारकर्मीसँग कुरा गर्दै भने, “पकुवाबाट धरान खानेपानी लाने कामको योजना ९९ प्रतिशत पूरा भयो । अब निशाने खोलाबाट अर्को खानेपानीको मुहान थप गरेर खानेपानी धरानेलाई खुवाउने अभियानमा छु ।”
मेयर साम्पाङको अभियान अन्तर्गत हरेक शनिबार वृक्षारोपण गर्ने अभियानअनुसार आज पकुवा खोलाको खानेपानी मुहान क्षेत्रमा वृक्षारोपण समेत गरिएको छ । सयौँ सर्वसाधारणको सहभागिता रहेको वृक्षारोपणमा विभिन्न प्रजातिका सयौँ बिरुवा रोपिएको छ । वृक्षारोपण गर्न पुगेका मेयर साम्पाङ आज हप्ता दिनपछि खानेपानीको मुहान पकुवा पुगेका हुन् ।
खानेपानीको मुहानमा मोहनबाट ल्याएको मुख्य पाइपमा ढुंगा र बालुवा परेर जाम भएकाले मुहानको सुधार गर्ने काम भएको थियो ।
मेयर साम्पाङको नेतृत्वमा मुहान सुधार गरी खानेपानीको मुख्य इन्टेकमा आउने पहिलो इन्टेकमा पानी झार्न खोला नै च्यानलिङ गरेर खानेपानीको मुहान सुधार गरिएको हो ।