शिक्षामन्त्रीले बालेनलाई भने– ‘हामी बनाउँछौँ, हाम्रो विद्यालय अभियानमा लाग्नुस् मन्त्रालयले सहयोग गर्छ’
काठमाडौँ, ३ साउन । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले काठमाडौँ महानगपालिकाका मेयर बालेन्द्र साह (बालेन)लाई शिक्षण संस्थालाई सुधार्न ‘हामी बनाउँछौँ, हाम्रो विद्यालय अभियान’मा लाग्न आग्रह गरेका छन् ।
मंगलबार मन्त्रालयमा भएको भेटवार्तामा मेयर साहलाई शिक्षण संस्था सुधार्न ‘हामी बनाउँछौँ, हाम्रो विद्यालय अभियान’ सञ्चालन गर्न आग्रह गरेका हुन् । मन्त्री पौडेलले काठमाडौँ महानगरपालिकाभित्र शिक्षक दरबन्दी पूरा भएको बताउँदै अब शैक्षिक गुणस्तरमा महानगरपालिकाले ध्यान दिनुपर्ने उल्लेख गरे ।
‘शिक्षकको कार्यसम्पादनलाई नियमित अनुगमन गरी विद्यार्थीले बुझेका छन् या छैनन् पढ्ने वातावरण छ कि छैन ? भनेर नियमित महानगरपालिकाले अनुगमन गर्नुपर्यो’ शिक्षामन्त्री पौडेलले भने । काठमाडौँ महानगरपालिकाभित्रको दरबार हाइस्कुलसहितका विद्यालयलाई नमुना विद्यालय बनाउने तयारी भएको बताउँदै विद्यालयको प्रधानाध्यापक राख्दा महानगरपालिकाले ध्यान दिनुपर्नेमा पौडेलले जोड दिए ।
‘भौतिक पूर्वाधारसँगै नमुना विद्यालय र शिक्षण सिकाइका लागि महानगरपालिकाले योजना बनाएर अघि बढ्नुपर्यो,’ उनले भने, ‘ महानगरपालिकालाई पर्ने अप्ठ्यारोमा मन्त्रालयले साथ दिन्छ ।’ शिक्षकले विद्यालयमा विद्यार्थीलाई पढाएर मात्र नहुने भन्दै होम भिजिट गर्नेपर्ने पौडेलको भनाइ छ ।
भेटमा मेयर साहले महानगरपालिकाभित्र भएका ९० ओटा विद्यालयमा बिहान ६ बजेदेखि १० बजेसम्म अनुगमन गर्ने काम भइरहेको भन्दै डिजिटल बोर्डको आवश्यकता रहेको बताए ।
‘हामी नियमित विद्यालयमा अनुगमन गरिरहेका छौँ,’ उनले भने, ‘सबै विद्यालयमा स्मार्ट बोर्ड लकर सिस्टमा व्यवस्थाका लागि मन्त्रालयले ५० करोड रकमको व्यवस्था गर्नुपर्यो ।’
साहले विद्यार्थीले बोक्ने किताबहरु धेरै र गह्रो भएको भन्दै किताब राख्नका लागि लकर सिस्टमको व्यवस्था गर्नुपर्ने बताए ।