काठमाडौँ । निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माण प्रक्रियामा अनधिकृत व्यक्तिको प्रवेश गराएको विषयमा छानबिन गर्न गठित संसदीय विशेष समितिले दुई दिनभित्र अर्थ मन्त्रालयका सिसिटिभी फुटेज र बजेट निर्माण प्रक्रियाका कागजात उपलब्ध गराउन निर्देशन दिएको छ ।
समितिको मंगलबार सिंहदरबारमा बसेको समितिको पहिलो बैठकले सिसिटिभी फुटेज र बजेट प्रक्रियाका कागजात झिकाउने निर्णय गरेको हो ।
समितिका सचिव सुरेन्द्र अर्यालले निर्णयबारे भने, ‘बिहीबार दिउँसो २ बजेभित्र अर्थ मन्त्रालयका सिसिटिभी फुटेज र बजेट निर्माण प्रक्रियाका कागजात झिकाउने निर्णय भएको छ ।’
पहिलो बैठकले समितिको आन्तरिक कार्यविधि पारित गरेको छ । सभापति चयनमा भने सत्तापक्ष र विपक्षले दाबी प्रस्तुत गरेपछि पहिलो बैठकले टुंग्याउन सकेन । अर्को बैठक बुधबार दिउँसो साढे २ बजेका लागि बोलाइएको छ ।
आगामी आर्थिक वर्षको बजेट संसद्मा सार्वजनिक गर्ने अघिल्लो राति गत जेठ १४ गते बिचौलिया र व्यापारीका प्रतिनिधिलाई अनधिकृत प्रवेश दिएर करका दर हेरफेर गरेको आरोप तत्कालीन अर्थमन्त्री शर्मामाथि लागेको छ । यही आरोपमा प्रमुख प्रतिपक्ष नेकपा (एमाले)ले विरोध गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले एमालेका ४, नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)का २–२, नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी र जनता समाजवादी पार्टीका एक–एक सांसद् रहेको समिति गठन गरेका थिए ।
आफूमाथि छानबिन समिति गठन भएकै दिन शर्माले संसद्मा सम्बोधन गर्दै पदबाट राजीनामा घोषणा गरेका थिए । उनीमाथि मध्यरातमा विचौलियालाई मन्त्रालय प्रवेश गराएको प्रमाणको रुपमा रहेको सिसिटिभी फुटेज मेटाएको आरोप छ ।
सिसिटिभी फुटेजसम्बन्धी कार्यविधिमा तीन महिनासम्मका दृष्य सुरक्षित राख्नुपर्ने व्यवस्था भए पनि मन्त्रालयले त्यस घटनासँग सम्बन्धित फुटेज १३ दिनपछि स्वतः मेटिएको दाबी गरेपछि अर्थ मन्त्रालय प्रकरणको प्रमाण योजनाबद्धरुपमा नष्ट गराएको समेत आरोप शर्मामाथि छ ।
छानबिन समितिलाई सिसिटिभी फुटेजको प्रमाण र बजेट निर्माण प्रक्रियाको समग्र अध्ययन गरी १० दिनभित्र रायसहितको प्रतिवेदन पेस गर्न संसद्ले कार्यादेश दिएको छ ।