उपसभामुख र उपाध्यक्ष चयन गर्न नसक्नु लाजमर्दो : वामदेव गौतम

102

काठमाडौँ, २८ असार । राष्ट्रियसभा सदस्य वमदेव गौतमले उपसभामुख र उपाध्यक्ष नियुक्तिका लागि महिला सांसद्हरुले आन्दोलन नै गर्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको उपसभामुख पद झण्डै ४ वर्षदेखि रिक्त छ भने राष्ट्रियसभा उपाध्यक्ष पद केही महिनादेखि खाली छ । राष्ट्रियसभाको मंगलबार बसेको बैठकमा बोल्दै गौतमले यो विषय सरकार र दलहरुको प्राथमिकतामा नपरेको बताए ।

संविधानले पुरुष नभए पनि हुन्छ, तर बराबरी हक अधिकार छ भन्ने सन्देश दिन महिला अनिवार्य गरेको भन्दै उनले उपाध्यक्ष नियुक्तिका लागि राष्ट्रियसभा अध्यक्षको पनि ध्यानाकर्षण गराए ।

प्रतिनिधिसभामा उपसभामुख पद झन्डै ४ वर्षदेखि रिक्त हुनु लाजमर्दो भएको भन्दै उनले भने, ‘यदि पुरुष अनिवार्य भनेको भए खाली भएको ५ दिनमा नियुक्ति भइसक्थ्यो ।’

उनले अघि भने, ‘जुन ठाउँमा महिला अनिवार्य भनिएको छ, त्यो भएको छैन । यो लाजमर्दो कुरा हो । महिला माननीयहरुले आन्दोलन नै गर्नुपर्ने जस्तो लागेको छ ।’

सदस्य गौतमले संविधानको धारा ९२ मा राष्ट्रियसभाको अध्यक्ष र उपाध्यक्ष भन्ने व्यवस्था गरेको भन्दै उपाध्यक्ष बिनाको अध्यक्षको परिकल्पना गर्न नसकिने उल्लेख गरे । उनले दुईमध्ये कुनै एक पदमा महिला अनिवार्य हुने कुरा संविधानले नै उल्लेख गरेको भन्दै पुरुष नभएपनि हुने तर महिला अनिवार्य हुनुपर्ने बताए । सदस्य गौतमले आफू संविधानको निर्माता भएकाले संविधानविपरीत भइरहेका गतिविधि सहन नसक्ने चेतावनी दिए ।

राष्ट्रियसभा गौतमले करिब ४ महिनायता राष्ट्रियसभाका ४ समितिमध्ये ३ वटामा सभापति नरहेको उल्लेख गर्दै सरकार, राजनीतिक दल, राष्ट्रियसभाका अध्यक्ष, कार्यव्यवस्था समितिको ध्यानाकर्षण गराए ।

Share This:
सम्बन्धित खबर
Loading...