काठमाडौँ, २७ असार । सभामुख अग्निप्रसाद सापकोटाले शून्य समय र विशेष समयमा सांसद्हरुले उठाएको विषयमा उचित जबाफ दिन सरकारको ध्यानाकर्षण गराएको छ ।
शून्य र विशेष समयमा उठाएका सवालमा सरकारले चासो नदिएको भन्दै पटक–पटक सांसद्हरुले आपत्ति जनाएका थिए ।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख सापकोटाले संसद्को शून्य समय र विशेष समयमा सांसद्हरुले उठाएका विषयप्रति सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराएका हुन् ।
‘शून्य समय, विशेष समय र अन्य समयमा माननीय सदस्यहरुले उठाउनुभएका विषयहरुको सन्दर्भमा सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराउँदछु,’ सभामुख सापकोटाले भने ।
आजको बैठकमा पनि शून्य समयमा सांसद्हरुले मुलुकको समसामयिक एवम् राजनीतिक विषयका अलावा, पाठ्यपुस्तक र रासायनिक मल, विषद्का विषयमा सरकारको ध्यानाकर्षण गराएको थियो । सभामुखले सम्बन्धित मन्त्रीलाई सांसद्ले उठाएको जिज्ञासाको उचित जबाफ दिन सरकारलाई रुलिङ गरे ।