काठमाडौँ, २५ असार । नेकपा (एकीकृत समाजपादी)का अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धनले देशलाई विभिन्न खालको संकटबाट बचाएको बताएका छन् । समाजवादी प्रेस संगठन रुपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले गठबन्धनले संसद्, संविधान, लोकतन्त्र, गणतन्त्रदेखिन विदेशी सैन्य रणनीतिको हिस्सा बन्नबाट बचाएको बताए ।
“पाँच दलीय गठबन्धनको सरकारले यो देशका विभिन्न खाले संकटबाट जोगाउँदै जोगाउँदै अगाडि बढिरहेको छ,” उनले भने, “हामीले जनतालाई अन्धराष्ट्रवादी होइन, सच्चा देशभक्त बनाउन लागिरहेका छौँ ।”
अध्यक्ष नेपालले राजनीतिमा स्थायी मित्र र स्थायी शत्रु नहुने भएकाले संविधानको रक्षा र प्रतिगमनविरुद्ध पाँच दलीय गठबन्धन गरिएको स्मरण गराए ।
नेता नेपालले अहिलेको मुख्य शत्रु नोकरशाही पुँजीवाद भएकाले त्यसविरुद्ध एक हुनुपर्ने बताए ।
अध्यक्ष नेपालले आफूलाई प्रधानमन्त्री बनाइदिन भनेर कसैकहाँ नजाने बताए । नेपालले गठबन्धन सरकार बनाउने बेलामा आलोपालोमा आफूलाई प्रधानमन्त्री बनाउने सहमति भएको संकेत गरे । यद्यपि दलीय गठबन्धन राजनीतिक मात्र नभएर विश्वासको संगम भएकाले पदका लागि आफूले मरिहत्ते नगर्ने उनको भनाइ थियो ।
‘कसैलाई प्रधानमन्त्री बन्छु भनेर जान्नँ, पदको लोभ पनि छैन , अहिले सरकारमा कसरी जाने भन्ने भन्दा निर्वाचनमा कसरी जाने भन्ने तयारी आवश्यक छ,’ उनले भने । अहिले सरकारभन्दा पार्टी विस्तार, संगठन निर्माण र जनताको जनजिविका परिवर्तन आफ्ना लागि महत्वको विषय भएको उनले बताए ।