एकैदिन चट्याङ लागेर २ जनाको मृत्यु, १९ जना घाइते

196

काठमाडौँ, २३ असार । एकैदिन देशका विभिन्न स्थानमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बागलुङ, मकवानपुर, चितवन, सोलुखुम्बु, दैलेख र अछाम बुधबार चट्याङ लागेर उनीहरुको मृत्यु तथा घाइते भएका हुन् ।

बागलुङको निसीखोला गाउँपालिका–५ की ७६ वर्षीया वृद्धाको चट्याङ लागेर मृत्यु भएको हो । चट्याङ लागेर घाइते भएकी उनको उपचारको क्रममा मृत्यु भएको हो ।

यस्तै, मकवनपुर बागमती गाउँपालिका–४ पाँचपाण्डपमा २२ वर्षीय पुरुषको मृत्यु भएको छ । मोटरसाइकलको पछाडी सवार उनलाई चट्याङ लागेर घाइत भएपछि उपचारको क्रममा मृत्यु भएको हो ।

चट्याङ लागेर चितवनको कालिका नगरपालिका–८ मझुवामा रोपाहार घाइते भएका छन् । हुरिबतास र पानीसँगै परेको चट्याङको तरंग लागेर १४ जना रोपाहार घाइते भएका हुन् ।

यस्तै, सोलुखुम्बुको माप्य दुधकोसी गाउँपालिका–७ मा १० वर्षीया बालिकासहित दुई जना घाइते भएका छन् । उनीहरुको स्वास्थ्य चौकी वाकुमा उपचार भइरहेको छ ।

दैलेखको नारायण नगरपालिका–३ कालिमाटीस्थिति घरमा चट्याङ पर्दा ३६ र १८ वर्षका दुई पुरुष घाइते भएका छन् । यस्तै, अछामको रामारोशन गाउँपालिका–६ एक घरमा चट्याङ पर्दा ४० वर्षीया महिला घाइते भएकी छन् भने गोठमा रहेको चौपायाको मृत्यु भएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...