प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव मंसिर २ गते गर्न निर्वाचन आयोगको प्रताव

71

काठमाडौँ, २२ असार । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति मंसिर २ गते तोक्न सरकारसमक्ष प्रस्ताव गरेको छ ।

बुधबार प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासहितको आयोगको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर मंसिर २ गते एकै चरणमा प्रतिनिधिसभा र प्रदेशको चुनाव गर्न प्रस्ताव गरेको हो ।

निर्वाचन आयोग ऐन, २०७३ को दफा ३ को उपदफा १, प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६ को उपधारा १ र प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६ को उपदफा १ बमोजिम प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन एकै मितिमा गर्न प्रस्ताव गरेको हो ।

आयोगले जटिल मानिएको पालिका चुनाव एकै चरणमा सफलतापूर्वक सम्पन्न भइसकेको अवस्थामा प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव पनि एकै चरणमा गर्न सकिने बताएको छ ।

जबाफमा प्रधानमन्त्री देउवाले मंसिर २ गतेको मितिमा केही तलमाथि हुन सक्ने तर सरकारले अवधि तलमाथि नपर्ने गरी चाँडै मिति घोषणा गर्ने बताएको प्रमुख निर्वाचन आयुक्त थपलियाले जानकारी दिए ।

निर्वाचन आयोग ऐन, २०७३ तथा निर्वाचनसम्बन्धी कानुनले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनको मिति निर्वाचन आयोगको परामर्शमा नेपाल सरकारले तोक्ने व्यवस्था गरेको छ ।

आयोगले २०७४ सालको निर्वाचनबाट निर्वाचित प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको पदावधि आगामी मंसिर २२ गते पूरा हुने निष्कर्ष निकालेको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको कार्यकाल कहिलेदेखि प्रारम्भ हुने भन्ने स्पष्ट कानुनी व्यवस्था नभएको, प्रत्येक सदस्यको निर्वाचित मितिलाई गणना गर्दा फरक–फरक मिति मान्नुपर्ने जस्तो देखिएको भन्दै आयोगले पहिलो निर्वाचन मितिलाई आधार मानी पदावधि गणना गर्नु व्यवहारिक र निर्विवाद हुने बताएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...