एमालेभित्र माओवादीको बिउ रोपेर आएका छौँ, केही समयपछि फल्छ : प्रचण्ड

97

काठमाडौँ, १५ असार । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले नेकपा (एमाले)भित्र माओवादीको बिउ रोपर आफू फर्केको बताएका छन् । त्यो बिउ केही समयपछि फल्ने र फुल्ने उनको भनाइ छ ।

बुधबार पेरिसडाँडामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेताहरुलाई माओवादीमा स्वागत गर्दै अध्यक्ष प्रचण्डले केपी ओली नेतृत्वका कारण मात्र अहिले एमालेमा आफूले रोपेको बिउ फक्रिन नपाएको बताए ।

उनले भने, ‘तीन वर्षको मेरो अनुभवले भन्छ– हामीले हाम्रो बिउ रोपेर आएका छौँ, हेर्नुहोला केही समयपछि फुल्छ, फल्छ । एमालेभित्र हजारौँ क्रान्तिकारी छन्, केपी ओली नेतृत्वका कारणमात्र हो । त्यहाँ पनि नसकिएको होइन । त्यसैले माओवादीहरुमात्र मिलेर हुन्न, अन्य वामपन्थीहरु पनि मिलाउनुपर्छ ।’

उनले एमालेभित्र केपी ओली नहुने हो भने त्यहाँका अरु हजारौँ नेता कार्यकर्ताहरुलाई आफूहरुले नेतृत्व गर्न सक्ने बताए । ‘एमालेभित्र केपी ओली प्रवृत्तिको नेतृत्व हुँदा विद्रोह गर्नुपर्‍यो । त्यो नेतृत्व नहुने हो भने अरु हजारौँलाई समाजवादको यात्रामा डोेर्‍याउन सकिन्छ । एमालेभित्रका हजारौँ नेता र कार्यकर्ताको नेतृत्व गर्न सकिन्छ,’ उनले भने ।

उनले अहिले सबै माओवादीहरु एकै ठाउँमा आउन जनताले दबाव दिएको बताए । माओवादी पुनरुत्थान आफ्नो नेतृत्वमा मात्रै सम्भव रहेको पनि प्रचण्डले दाबी गरे ।

विप्लव र मोहन वैद्य‘किरण’लाई लक्षित गर्दै उनले भने,‘फेरि प्रचण्ड कहाँ जाने भनेर लाज लाग्न सक्छ । लाज नमानौँ, यथार्थ त्यही नै हो । माओवादीहरुको पुनःमिलन प्रचण्डको नेतृत्वमा मात्रै सम्भव छ । मेरो थुप्रै कमजोरी भए पनि यही यथार्थ हो ।’

प्रचण्डले आफू भावुक र उदार स्वभावको रहेको भन्दै माओवादीमा बसेकाहरुलाई भन्दा बाहिर गएर आएकालाई बढी अवसर र जिम्मेवारी दिएको बताए । छाडेर फर्केकालाई महासचिव र गृहमन्त्री बनाउँदा अहिले कहाँ–कहाँ पुगेको भन्दै उनले बादलको आलोचनासमेत गरे ।

Share This:
सम्बन्धित खबर
Loading...