‘जबज’ विश्वको मार्ग दर्शक सिद्धान्त बन्न सक्छ : शंकर पोखरेल

144

काठमाडौँ, १४ असार । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले ‘जनताको बहुदलीय जनवाद’ विश्वमा मार्गदर्शन बन्न सक्ने बताएका छन् । महसचिव पोखरेलले एमालेका तत्कालीन अध्यक्ष मदन भण्डारीले प्रतिपादन गरेको सिद्धान्त ‘जबज’ विश्वमै मार्ग दर्शन बन्न सक्ने बताएका हुन् ।

मदन भण्डारीको ७१औँ जन्म जयन्तीको अवसरमा प्रेस चौतारी नेपालले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा ‘जनताको बहुदलीय जनवाद र अभिव्यक्ति स्वतन्त्रता’ विषयक अन्तरसंवादमा पोखरेलले सो कुरा बताएका हुन् ।

उनले भने,“मदन भण्डारीले प्रतिपादन गर्नुभएको जनताको बहुदलीय जनवाद, जनताको विश्वास जितेर जनताकै सेवा गर्न विश्वकै नमुना सिद्धान्त हो, यदि यो कुनै विकसित देशमा प्रतिपादन भएको थियो भने विश्वकै मार्गदर्शन बन्न सक्थ्यो ।”

जबजले कानुनी सर्वोच्चता, मानवअधिकार, बहुदलीय प्रतिस्पर्धालाई नयाँ उचाइमा पुर्‍याउने काम गरेको र नेता मदन भण्डारीले जनताको बहुदलीय जनवादलाई श्रमजीवी वर्गलाई मुख्य सिद्धान्तका रुपमा अघि सारी एउटा क्रान्तिकारी कदम चालेको बताए । जबज नेपालको राजनीतिक शिराको रुपमा उदाएको चर्चा गर्दै उनले तत्कालीन समयमा अध्यक्षसहित नयाँ पदाधिकारी चुन्ने व्यवस्था गर्नु निकै महत्वपूर्ण भएको र अहिले सबैले त्यही प्रक्रियामा अघि बढिरहेको स्मरण गराए ।

जबजले अन्य दललाई पनि नेतृत्व गरिरहेको बताउँदै कांग्रेस र माओवादी पनि जबजको लाइनमा आएको पोखरेलले बताए । माओवादी शान्तिपूर्ण राजनीति, बहुपदीय नेतृत्व प्रणाली तथा कांग्रेसको आन्तरिक निर्वाचन गर्ने प्रणाली जबजबाटै सिकेको पोखरेलको भनाइ छ ।

पोखरेलले मदन भण्डारीको स्मरण गर्दै नेपालमा टुटेर फुटेर बसेका कम्युनिस्टहरुलाई एकताबद्ध बनाउने काम मदन भण्डारीले नै गरेको उल्लेख गरे ।

मदन भण्डारी दुरदृष्टी भएका नेता भएको बताउँदै पोखरेलले भने,“विश्व कम्युनिस्टहरु कमजोर भइरहेका बेला, पुँजीवादीहरुले कम्युनिस्टलाई निरंकुश र क्रुर भनेर चिनाइरहँदा नेपालबाट शान्तिपूर्ण कम्युनिस्ट आन्दोलनको उज्यालो छरेर विश्वसामु नयाँ सिद्धान्त जबज प्रस्तुत गर्ने दुरदृष्टि भएका नेता मदन भण्डारी हुनुहुन्थ्यो ।”

पोखरेलले नेपालको राजनीतिमा अहिले दुई कित्तामा बाँडिएको सन्दर्भ पनि प्रस्तुत गरे । “एउटा बुर्जुवा शक्तिले नेतृत्व गरेको पुँजीवादतर्फको कित्ता र अर्को वामपन्थी शक्तिले नेतृत्व गरेको समाजवादतर्फको कित्ता । अरु सबै विचार र श्रृंखला भनेका त्यसैको वरिपरि छन्,” उनले भने,“फरक विचारबीच ध्रुविकरण गर्ने हो भने यी दुई शक्तिबीचको ध्रुविकरण ऐतिहासिक आवश्यकता हो । जसले समृद्धिको नेतृत्व गर्न सक्छ ।”

यद्यपि, नेपाली कांग्रेस आफ्नो विचारको आधारमा शक्ति निर्माण गर्ने आत्मविश्वास गुमाइसकेको राजनीतिक दलका रुपमा रहेको भन्दै उनले आलोचना गरे । “नेपाली कांग्रेस यति हतोत्साही र निराश छ कि ऊ गठबन्धनबाहेकको तरिकाबाट राजनीतिको नेतृत्व गर्न सकिन्न भन्छ,” उनले भने,“तर, गठबन्धनले नीतिगत विचलन पैदा गर्छ । गठबन्धनले राजनीतिक अस्थिरता पैदा गर्छ ।”

त्यस्तै, पोखरेलले मिडियालाई तथ्यपरक नभएर लगानीकर्ताको चाहनाअनुसार चल्ने गरेको बताए । सञ्चार माध्यमनै स्वतन्त्र भए मात्रै स्वतन्त्र अभिव्यक्ति हुने पोखरेलको भनाइ छ ।

Share This:
सम्बन्धित खबर
Loading...