भैरहवा, १० असार । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा नै विकाशको मेरुदण्ड भएको बताएका छन् । शुक्रबार लुम्बिनी बौद्ध विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहमा बोल्दै उनले राष्ट्र निर्माणमा शिक्षा महत्वपूर्ण पाटो भएको बताउँदै शिक्षा नै विकाशको मेरुदण्ड भएको बताए । बौद्ध विश्वविद्यालय विशिष्टीकृत विश्वविद्यालय भएकाले त्यसको आफ्नै महत्व रहेको बताए ।
“आनन्द हुनु भनेको ज्ञान प्राप्त गरेर बहुत्व प्राप्त गरी आत्मिक एवम् भावनात्मक रुपमा सन्तुष्टि हुनु हो,” उनले भने, “भौतिक समृद्धि पूर्वाधार विकासबाट हुन्छ भने आत्मिक समृद्धि शान्ति, शिक्षा, नैतिकता, अनुशासन र मानवतबाट प्राप्त हुन्छ ।”
उनले समाज र देशमा सौन्दर्य प्राप्त गर्न प्रत्येक नागरिक ज्ञानी हुनुपर्नेमा जोड दिए । “समाज र देशमा सौन्दर्य प्राप्त गर्न प्रत्येक नागरिक ज्ञानी हुनुपर्छ,” उनले भने, “नागरिकलाई ज्ञानी बनाउने शिक्षा नै हो ।”
उनले लुम्बिनी बौद्ध विश्वविद्यालयलाई बुद्धका उपदेश र बौद्ध शिक्षालाई जीवनोपयागी बनाउने गरी विश्वविद्यालयलाई शैक्षिक अनुसन्धानको केन्द्र बनाउनुपर्नेमा जोड दिए ।
पर्यटन क्षेत्रमा आवश्यक दक्ष जनशक्तिको मुलुकमा अभाव रहेकाले लुम्बिनीसहित बौद्ध साइटमा बौद्ध विश्वविद्यालयका जनशक्तिले गाइडका रूपमा काम गर्ने वातावरण निर्माण गर्दै जानुपर्नेमा मन्त्री पौडेलले जोड दिए । “बुद्धको जन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर विश्वविद्यालयलाई बौद्ध शिक्षा, साहित्य, कला, इतिहासको अध्ययन–अध्यापन तथा अनुसन्धान गर्ने अन्तर्राष्ट्रिय प्राज्ञिक अन्तरक्रियाको केन्द्र बनाउने ध्येयलाई भुल्नु हुँदैन,” उनले भने ।