गठबन्धन गरेर चुनाव जितिएला तर देश बन्दैन : शंकर पोखरेल

184

ललितपुर, २२ जेठ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले दलहरुबीचको गठबन्धन चुनाव जित्नका लागि काम लागे पनि मुलुक निर्माणका लागि काम नलाग्ने बताएका छन् ।

गठबन्धनबाट मुलुक बन्दैन भन्ने कुरा विश्वका धेरै मुलुकमा प्रमाणित भएको कुरा हो, हाम्रै देशमा हेर्ने हो भने पनि एमालेलाई सक्ने उद्देश्यका साथ बनेको गठबन्धन र त्यसको नेतृत्वमा रहेको सरकारले ११ महिनामा गरेका कामबाट मुलुक निर्माणमा गठबन्धन काम नलाग्ने प्रष्ट हुने उनको भनाइ थियो ।

एमाले पार्टी मुख्यालय ललितपुरमा सहकारी तथा गरिबी निवारण विभागको पहिलो बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले विदेशी मुद्राको सञ्चिती, मूल्यवृद्धि, रेमिट्यान्सलगायतका क्षेत्रमा देखिएका समस्याबाट गठबन्धनको हालत प्रस्ट हुने बताए ।

“एमालेभित्र पनि आगामी निर्वाचनमा गठबन्धन गरेर जानु पर्ने विषय चल्न थालेको छ, चुनाव जित्नका लागि गठबन्धन ठिक भए पनि मुलुक निर्माणका लागि गठबन्धन काम लाग्दैन,” उनले भने, “मुलुक निर्माणका लागि एमालेलाई बलियो राष्ट्रिय शक्तिका रुपमा स्थापित गर्नु पर्दछ ।”

राष्ट्रिय शक्ति बन्ने अवसरबाट कांग्रेस चुकेको भन्दै पोखरेलले स्थानीय तह निर्वाचनको वस्तुनिष्ठ समीक्षा गरी त्यसका कमी कमजोरीलाई सच्याउँदै एमालेलाई सशक्त र बलियो शक्तिका रुपमा स्थापित गर्न पार्टीको सिंगो पंक्ति जुट्नु पर्नेमा जोड दिए । एमालेलाई मतदिने जनता बढेका छन्, महागठबन्धन, आन्तरिक व्यवस्थापन सुधार गर्न नसक्नु, राज्यकातर्फबाट भएको ज्यादती, पैसाको बढी चलखेल जस्ता कारणले सिट संख्यामा केही कमी भए पनि समग्र लोकप्रिय मतमा एमाले कमजोर छैन भन्ने तथ्यनिर्वाचनले पुष्टि गरेको उनले बताए ।

एउटा संकल्पका साथ अगाडि बढौँ, पार्टीका हरेक व्यक्तिको मनमा मुलुक निर्माणको सोच हुनु पर्‍यो, त्यो सोचलाई पूरा गर्नका लागि कटिवद्ध भएर लाग्नुको विकल्प नभएको उनको भनाइ थियो । हारको मानशिकता लिएर सफल भइँदैन भन्दै पोखरेलले असफलतालाई सफलतामा बदल्न जिम्मेवार भएर अगाडि बढ्न आह्वान गरे ।

समाजवादउन्मुख अर्थतन्त्रको विकासका लागि नेपालको संविधानले तीन खम्बे अर्थनीति अंगिकार गरेको चर्चा गर्दै महासचिव पोखरेलले पुँजीवादीहरुले सहकारी क्षेत्रलाई प्राथमिकता नदिएको आरोप लगाए । सहकारी मुलुकको आर्थिक विकासको महत्वपूर्ण माध्यम हो, यसको प्रभावकारी परिचालनबाट गरिबी निवारणमा योगदान गर्न सकिने उनको भनाइ थियो ।

सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि राज्यका निकायसँगै सहकारी अभियानका संघ तथा महासंघहरुको सक्रियता बढ्नु पर्नेमा जोड दिँदै उनले कृषि क्षेत्रलाई रुपान्तरण गरी गरिबी निवारणको महत्वपूर्ण पाटोका रुपमा कृषिलाई स्थापित गर्न, उत्पादन बढाउन, बजारीकरणलाई प्रभावकारी बनाउन र वचत परिचालनमा सहकारीको भूमिका बढाउनु पर्छ, किसान सबैभन्दा बढी मर्काका परेको विचौलियाका कारण हो, विचौलियाको अन्त्यगर्न सहकारीले कसरी भूमिकानिर्वाह गर्न सक्छ ? यो विषयमा सहकारीकर्मीहरुको ध्यान पुग्नु पर्ने उनको सुझाव छ ।

“कतिपय सहकारीहरु युनिभर्सल सिद्धान्तभन्दा फरक ढंगले चलेका पनि पाइन्छ, त्यसरी चलेका सहकारीहरुका कारण सिंगो अभियानमा पर्न सक्ने नकरात्मक सन्देशकाबारेमा अभियान चनाखो हुनु पर्दछ,” उनले भने ।

Share This:
सम्बन्धित खबर
Loading...