प्रदेश र संघीय संसद् निर्वाचनसम्मै गठबन्धन रहन्छ : कांग्रेस प्रवक्ता महत

223

काठमाडौँ, ९ जेठ । स्थानीय तह निर्वाचनमा पहिलो दल बन्न सफल सत्तारुढ नेपाली कांग्रेसले सोमबार पत्रकार सम्मेलन गरी गठबन्धनलाई आउँदो प्रदेश र संघीय संसदीय निर्वाचनसम्मै लगिने बताएको छ ।

कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले देशव्यापी रुपमै स्थानीय तह निर्वाचनमा कांग्रेसले सम्मानजक मत पाएपछि पार्टी नेतृत्वले गठबन्धनलाई निरन्तरता दिने निर्णयमा पुगेको बताए ।

पत्रकार सम्मेलनमा प्रवक्ता महतले भने, ‘कांग्रेससहित गठबन्धनमा आबद्ध सहयोगी दलले पनि निर्वाचनमा सफलता हासिल गरेकोले गठबन्धन अनिवार्य देखिएको छ ।’

नेकपा (एमाले) अध्यक्ष केपी ओली नेतृत्वको सरकारले जनताका गुनासा सम्बोधन नगरेकै कारण कांग्रेसप्रति जनलहर बढेको उनको भनाइ छ । प्रवक्ता महतले केही स्थानमा स्वतन्त्र उम्मेदवारले बाजी मारिरहे पनि त्यसलाई पार्टीहरुप्रति जनविश्वास घटेको मान्न नसकिने दाबी गरे ।

प्रतिपक्षी एमालेले निर्वाचनमा राज्य संयन्त्रबाटै धाँधली गराइएको भन्ने आरोप पुष्टि गर्न उनले चुनौती दिए । कांग्रेस पार्टीभित्रको असन्तुष्टि र अन्तर्घातले केही सिट संख्या घटे पनि यसलाई समाधान गर्न छलफल गरेरै अगाडि बढ्ने तयारीमा रहेको उनले बताए ।

पार्टी एक्लैले झन्डै ८५ स्थानमा जित हासिल गरेकाले पनि कांग्रेसप्रति जनमत बढेको देखिएको उनले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...