काठमाडौँ, ३० वैशाख । ललितपुर महानगरपालिकाका प्रमुख पदका उम्मेदवारद्वय चिरीबाबु महर्जन र हरिकृष्ण ब्यञ्जनकारले मतदान गरेका छन् ।
सत्ता गठबन्धका उम्मेदवार महर्जनले वडा नम्बर ३ स्थित मोडल आइडल विद्यालयबाट र नेकपा (एमाले) का उम्मेदवार ब्यञ्जनकारले वडा नम्बर ९ स्थित श्रमिक शान्ति विद्यालयबाट मतदान गरेका हुन् ।
जिल्लाका छ ओटै स्थानीय तहमा शान्तिपूर्णरुपमा मतदान जारी छ । मतदानपछि महर्जनले आफ्नो जित सुनिश्चित रहेको दाबी गरे ।
त्यस्तै, ब्यञ्जनकारले ललितपुरलाई ५ वर्षभित्र सुन्दर गन्तव्यमा पुर्याउनका लागि मतदाताले विचार गर्नुपर्ने बताए ।
ललितपुरका १३१ मतदानस्थलमा रहेका २८८ मतदान केन्द्रमा मतदान जारी रहेको मुख्य निर्वाचन अधिकृत किरणप्रसाद सिवाकोटीले जानकारी दिए । निर्वाचनमा एक हजार ४३३ कर्मचारी खटिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
जिल्लामा ३० हजार ८११ नयाँ मतदाता थपिएका जनाइएको छ । योसँगै जिल्लामा कुल दुई लाख ४३ हजार ८८४ मतदाता पुगेका छन् ।