भरतपुरमा सत्ता गठबन्धनले गर्ने चुनावी सभास्थल जलमग्न

166

काठमाडौँ, २२ वैशाख । गएरातिदेखिको वर्षाका कारण चितवनको भरतपुर बसपार्कमा पाँच दलीय गठबन्धनले आयोजना गर्न लागेको आम सभास्थल डुबेको छ । रातभर परेको पानीले मञ्च जलमग्न भएको छ ।

आम सभास्थलमा सजाइएका झन्डा, ब्यानरहरु पनि डुबानमा परेका छन् । सत्तारुढ पाँच दलले चितवनको भरतपुर महानगरपालिकामा आज संयुक्त चुनावी सभा गर्दैछन् । तर, सभा स्थल जलमग्न भएपछि अन्योल भएको छ ।

आम सभालाई सत्ता गठबन्धनमा रहेका दलका शीर्ष नेताले सम्बोधन गर्ने तयारी छ । त्यसका लागि शीर्ष नेताहरु बुधबार नै चितवन पुगिसकेका छन् ।

भरतपुरको हाकिम चोकमा रहेको बसपार्कमा हुने सभालाई प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापालगायत नेताले सम्बोधन गर्ने छन् ।

भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनको साझा उम्मेदवारका रुपमा माओवादी केन्द्रकी रेणु दाहाल मेयरको उम्मेदवार छन् । कांग्रेसका जगन्नाथ पौडेलले उम्मेदवारी फिर्ता नलिएपछि रेणु दाहालको चुनावी यात्रा जटिल बनेको छ ।

दाहालको पक्षमा मत जुटाउन गठबन्धनका शीर्ष नेताहरु नै दौडधुपमा छन् । भरतपुरमा एमालेले विजय सुवेदीलाई मेयरको उम्मेदवार बनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...