काठमाडौँ । बझाङमा आफ्नो पार्टीद्वारा आयोजित सभामा सम्बोधन गर्दै नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई आरोपै आरोप लगाएका छन् । उनले विभिन्न खालका कढा शब्द प्रयोग गर्दै सरकारको आलोचना गरेका हुन् ।
अध्यक्ष ओलीले अर्थतन्त्र जोगाउने प्रयार गरेवापत सरकारले गभर्नरलाई हटाएको भन्दै आक्रोश व्यक्त गरे । उनले कमिसनखोरी गर्न नदिएवापत सरकारले गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको आरोप लगाए ।
“देश रसातलमा पुर्याइसके, सरकार वृद्धाभत्ता र कर्मचारीलाई तलब दिन नसक्ने अवस्थामा पुगिसकेको छ,” ओलीले भने,“खस्किँदो अर्थतन्त्र सुधार गर्नुको सट्टा, आफू कमिसनखोरी गर्ने, बदमासी गर्ने, दलालहरुसँग साँठगाँठ गर्ने अनि अर्थतन्त्र जोगाउन खोज्ने गभर्नरमाथि नै हमला गरेर आफ्नो असली अनुहार देखाउने काम यो सरकारले गरिरहेको छ ।”
उनले गठबन्धन सरकारमा रहेकाहरु देशलाई बनाउने भन्दा पनि पारिवारिक भागबन्डा गरेर देश लुट्न व्यस्त रहेको आरोप समेत लगाए । “पाँच ओटा मुख भएका खन्चुवाहरु देशप्रति चिन्तित छैनन् । बरु ज्वाइँ, भाञ्जा, सालासाली, भाइ भतिजाहरुलाई नियुक्ति दिन तँछाडमछाड गरिरहेका छन् । यिनीहरुले देशलाई बर्बाद बनाउँछन्,” उनले भने ।
सरकारले चुनाव भाँड्न र स्थानीय सरकारलाई रिक्त बनाउने षड्यन्त्रमा लागेको उनको आरोप छ । “म गठबन्धन नामको खैजडी सरकारलाई भन्न चाहन्छु, चुनाव रोक्ने कोशिश धेरै पटक गरिसकेको छ यो सरकारले,” उनले भने ।
उनले सरकारले देशलाई बर्बाद बनाउन खोजेको र प्रतिगमनमा लैजान खोजेको पनि बताए । गठबन्धन सरकार भनेको प्रतिगामीहरुको सरकार भएको उनको आरोप छ ।
ओलीले अहिलेका प्रधानमन्त्री देउवा जबजब सरकारमा जान्छन्, तबतब प्रतिगमन हुने गरेको पनि बताए । लोकतन्त्र बुझाउने गरेको आरोप पनि ओलीका थियो । “म आग्रह गर्न चाहन्छु, यसपल्ट त्यस प्रकारको प्रयास नगर्नुस् । उहाँको यो लुटमण्डलीलाई, अहिले जुन सरकार भनेर बसेको छ, पाँच दलीय गठबन्धन, त्यसलाई चेतावनी दिन चाहन्छु,” उनले भने ।
यसक्रममा उनले आफूहरुले चाहे एक हप्तामै सरकार ढालिदिने पनि चेतावनी दिए ।
ओलीले देशभरि एमालेको पक्षमा जनलहर उर्लिएको बताए । एमालेलाई जिताउनका लागि जनता चुनावको प्रतीक्षामा रहेको उनको दाबी छ ।
ओलीले भने, “परमादेशका माध्यमबाट सरकार अलिकति समयका लागि, तर जनताको मनबाट ढलेन, उखेलिएन । त्यसैल तपाईंहरु चुनावको प्रतीक्षामा हुनुहुन्छ, एमालेलाई जिताउनका लागि । आज देशभरि जनलहर उर्लिएको छ एमालेको पक्षमा ।”
उनले थपे, “एमाले सरकारमा छैन, प्रतिपक्षमा छ । एमालेले मन्त्री बनाउँदैन । कसैलाई राजदूत नियुक्त गर्दैन । तर, सत्तारुढ पार्टीका कार्यकर्ताहरु खोलो पहिरो भएर एमालेमा प्रवेश गरिरहेका छन् ।”