ओलीलाई खनालको जबाफ : नेकपा एस टन मात्रै होइन, दशौँ टनको पार्टी बन्दै छ

272

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले एमाले अध्यक्ष केपी शर्मा ओलीले अन्य पार्टीलाई ढक भनेकोमा आपत्ति जनाएका छन् ।

ओलीले केही दिनअघि आफ्नो पार्टीलाई क्वीन्टल र अन्य पार्टीलाई ढक भनेको उल्लेख गर्दै सम्मानित नेता खनालले आफ्नो पार्टी दशौँ टनको बनिरहेको दाबीसमेत गरे ।

शनिबार पार्टीद्वारा काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टी दशौँ टनको बन्दै गएको कुरा हेर्न जिल्ला–जिल्लामा जान पनि ओलीलाई चुनौती दिए ।

“केपी ओलीले के भनेछन् भने उनको पार्टीलाई चाहिँ क्वीन्टल हामीलाई चाहिँ ढक । म यही मञ्चबाट भन्न चाहन्छु– केपी ओलीजी तपाईंको पार्टी ढक हो कि तपाईंको पार्टी क्वीन्टल हो कि एकीकृत समाजवादी चाहिँ टन हो, यहाँ आएर हेर्नुहोस् । प्रत्येक जिल्लामा गएर हेर्नुहोस्,” उनले भने,“अब नेकपा एकीकृत समाजवादी टन मात्रै होइन, दशौँ टनको पार्टी बन्दै छ । यो कुरा केपी ओलीले बुझ्न जरुरी छ । हामी पनि यो निर्वाचनमा जाँदै छौँ ।”

पूर्वप्रधानमन्त्री खनालले पाँच दलीय गठबन्धनलाई कायमै राखेर स्थानीय तह निर्वाचनमा आफ्नो पार्टी पनि स्पष्ट पारे । उनले निर्वाचनको घोषणा पत्र तत्काल आउने उल्लेख गर्दै त्यसलाई लिएर प्रचार अभियानमा जुट्न पनि पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिए ।

“हामीले स्थानीय तह निर्वाचनको घोषणा पत्र तुरुन्त ल्याउँदै छौँ । त्यो घोषणा पत्रलाई हामीले घर घरमा, टोल टोलमा लिएर जानेछौँ,” उनले कार्यकर्तालाई निर्देशन दिँदै भने,“तपाई हामी सबैको अहिलेको कर्तव्य यो हो ।”

Share This:
सम्बन्धित खबर
Loading...