- लक्ष्मण थामी
चरिकोट । दोलखाको कालिञ्चोक गाउँपालिका अध्यक्षमा नेकपा (एमाले)बाट ८ जनाले दाबी प्रस्तुत गरेका छन् ।
आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा उनीहरुले आफूलाई गाउँपालिकाको अध्यक्षको दाबेदारको रुपमा प्रस्तुत गरेका हुन् ।
उम्मेदवारको विषयमा छलफल गर्न शनिबार बसेको गाउँपालिका संगठन कमिटिको बैठकमा उनीहरुले आफ्नो धारणासहित पार्टीको तर्फबाट अध्यक्षमा दाबी प्रस्तुत गरेका थिए ।
अध्यक्षमा दाबी गर्नेहरुमा रोहितचन्द्र खड्का, विनकुमार थामी, गणेश शिवाकोटी, लक्ष्मण थामी, हरि ओली, चेतबहादुर खड्का, निशान बुढाथोकी र अर्जुन बुढाथोकी रहेका छन् । उनीहरुमध्ये ६ जना जिल्ला कमिटी सदस्यको जिम्मेवारी छन् ।
एमाले कालिञ्चोक गाउँपालिका कमिटीका अध्यक्ष ईश्वरी दाहालले गाउँपालिका अध्यक्षका लागि बैठकमा ८ जनाको दाबी प्रस्तुत भएको र त्यसलाई माथिल्लो निकायमा पठाइने जानकारी दिए ।
यसैबीच एमालेबाट कालिञ्चोक गाउँपालिकाको उपाध्यक्षका लागि पनि ८ जनाले दाबी गरेका छन् । सविना पाण्डे, लक्ष्मी शिवाकोटी, रमा शिवाकोटी, कविता थामी, सुजता शिवाकोटी, सुमित्रा शंकर, छलिमाया थामी र राधा ओलीले उपाध्यक्षमा आकांक्षा राखेका हुन् ।
एमालेको अन्तरपार्टी निर्देशिका अनुसार नगरपालिका र गाउँपालिकाको प्रमुख र उपप्रमुखबारे टिकटको निर्णय गर्ने अधिकार पार्टीको प्रदेश कमिटीलाई दिइएको छ ।