विराटनगर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले कम्युनिस्ट पार्टीको नेतृत्व गर्ने व्यक्तिले पार्टी मिलाउन नसक्दा नेपालमा कम्युनिस्ट पार्टी (नेकपा) तीन टुक्रा भएको बताएका छन् ।
मोरङ व्यापार संघको आयोजनामा शुक्रबारदेखि स्वदेशी उत्पादन प्रवर्द्धन गर्न विरानगर–२ मा शुरु भएको ‘मोरङ व्यापार संघ ट्रेड एक्सपो’मा बोल्दै उनले भने,“जनताले दुई तिहाइ नजिक पुर्याएको नेकपा नेतृत्व गर्ने व्यक्तिले मिलाउन नसक्दा तीन टुक्रा भयो, यो कसको कारणले भयो त्यो कुरा जनताले बुझेका छन् । अब वैशाख ३० गते निर्वाचनमा नागरिकले देखाउनेछन्, पार्टी फुटाउनेका हैसियत ।”
पार्टी नेतृत्व गर्ने नेताले पार्टी मिलाउन नसकेका कारण ७० प्रतिशत जितेको कम्युनिस्ट पार्टी अहिले नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) भएको मन्त्री आलेले बताए ।