मोरङ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले सरकारमा सहभागी दलहरुबीच गठबन्धन गरी निर्वाचनमा जानुपर्ने बताएकी छन् ।
गिरिजाप्रसाद कोइराला फाउन्डेसन मोरङद्वारा आज आयोजित पत्रकार सम्मेलनमा उनले लोकतन्त्रको संरक्षण र राजनीतिक स्थिरताका लागि सत्तामा सहभागी दलबीच गठबन्धन कायम गरी जानुपर्ने आवश्यकता रहेको बताएकी हुन् ।
पूर्वउपप्रधानमन्त्रीसमेत रहेकी नेतृ कोइरालाले गठबन्धनका कारण दुईपटक विघठन गरिएको संसद् पुनःस्थापना र नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन भएकाले हामीहरु स्वार्थी हुनु हुँदैन भन्दै पार्टीको केन्द्रीय कार्य समितिको निर्णय सबै नेता तथा कार्यकर्ताले अनुशरण गरी अघि बढ्नुपर्नेमा जोड दिइन् ।
नेत्री कोइरालाले पार्टीलाई पुनःसत्तामा जानका लागि गठबन्धन आवश्यक भएको चर्चा गर्दै गठबन्धन सरकारबाट नै लोकतन्त्रको संस्थागत विकास, रोजगारी अभिवृद्धि र सामाजिक रुपान्तरण हुने बताइन् ।