काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चुनावमा गठबन्धनलाई सैद्धान्तिक रुपमा पुष्टि गर्न नसकिने बताएका छन् । आफू गठबन्धनको विपक्षमा रहेको उनले स्पष्ट पारेका हुन् ।
पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा बोल्ने क्रममा उनले स्थानीय तह निर्वाचनमा कांग्रेससँग गठबन्धन गरेको माओवादी केन्द्र संसदीय चुनावमा साथ रहने कुनै ग्यारेन्टी नरहेको बताए ।
“भोलि संसदीय चुनावमा माओवादी हामीसँगै रहन्छ भन्ने के ग्यारेन्टी छ ?,” उनले प्रश्न गरे,“यसको जिम्मेवारी कसले लिन्छौँ ।”
उनले रुखमा मतदान गर्ने अहिले हँसिया हथौडा र कलममा मतदान गर्न कांग्रेसले भन्न नसक्ने बताए ।
“रुखबाहेक कतै भोट नहालेका लाखौँ मतदातालाई अहिले अन्यन्त्र भोट हाल्न लगाउने हो भने भविष्यमा रुखमै भोट हाल्ने ग्यारेन्टी के ?,” उनले भने ।
जुनसुकै प्रस्तुतिमा पनि रुख नै रोज्ने मतदातालाई गठबन्धनका नाममा अन्यत्र भोट हाल्न बाध्य पार्दा आगामी दिनमा कांग्रेसले ठुलो क्षति बेहोर्नेतर्फ उनले सचेत गराए ।
उनले गठबन्धन सरकारले गलत निर्णय गर्दा त्यसको भारी कांग्रेसले बोक्न नसक्ने पनि बताए ।
“गठबन्धन सरकारले गरेको गलत कामको भारी हामीले बोक्न सक्दैनौँ,” उनले भने,“भोलि कम्युनिस्ट मिल्छन् मिल्छन् ।”