काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा कम्युनिस्टको आवरणमा तानाशाहको उदय भएकाले त्यसविरुद्ध जनमत सिर्जना गर्न एकीकृत समाजवादी गठबन भएको बताएका छन् ।
समाजवादी प्रेस संगठन नेपालको प्रथम विस्तारित बैठकको समापन समारोहमा आज उनले पात्रको विकृत मानसिकता भएमा समाजवाद वा साम्यवादको आवरणमा तानाशाह जन्मेने गरेको विश्वमञ्चमा दृष्टान्त रहेको उल्लेख गरे । अध्यक्ष नेपालले सञ्चारकर्मीको कलमले सत्यको खोजी गरी तथ्यको उद्घाटन गर्नुपर्नेमा जोड दिए ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले जनताको करिब दुई तिहाइको बहुमत कम्युनिस्टलाई दिएको भए पनि तत्कालीन सरकारको नेतृत्व व्यक्तिवादी, दक्षिणपन्थी, अवसरवादी र राष्ट्रिय समर्पणवादी भएकाले जनताको आर्थिक समृद्धिको चाहना पूरा हुन नसकेको विचार व्यक्त गरे ।
देशभर पार्टीको संगठन द्रुत गतिमा निर्माण भइरहेको बताउँदै उनले भने,“हामी चुनावदेखि चुनावसम्म होइन, जनतादेखि जनतासम्म जानुपर्छ ।”
अध्यक्ष नेपालले देशमा समानता, सामाजिक न्याय, विकास र समृद्धि कायम गर्ने विषय नै पार्टीको लक्ष्य भएको बताए । उनले राष्ट्रिय पुँजीको विकास गरी आत्मनिर्भर अर्थतन्त्रको विकास गर्न कृषि, उद्योग, पर्यटनका साथै पूर्वाधार क्षेत्रका लगानी विस्तार गर्नुपर्नेमा जोड दिँदै त्यसले मुलुकमा रोजगारी सिर्जना गरी अर्थतन्त्रलाई चलायमान बनाउने तर्क प्रस्तुत गरे ।