काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ अझै नसुध्रिएको टिप्पणी गरेका छन् ।
अहिलेसम्म माओवादीले पिरोल्न नछाडेको भन्दै ओलीले प्रचण्डलाई सच्याउन सकिन्छ कि भनेर प्रयास गरेको तर असफल भएको बताए ।
नेपाल मुस्लिम इत्तेहाद संगठनको छैटौँ राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले माओवादीले युवाहरुलाई समाजवादको सपना देखाएर अल्मल्याएको बताए ।
“ल्याइयो मिलाएर अलि सच्याउन सकिन्छ कि प्रचण्डलाई भनेर, ल्याइयो । मैले पहिले पनि भने ड्रमका ड्रम पानी खर्च भयो । डल्लाका डल्ला साबुन खर्च भयो । धुँदाधुँदा, हाम्रो बागमनी नै मैलियो माओवादीलाई पखाल्दा–पखाल्दा, साबुन लाउँदा लाउँदा । मैले अरुलाई भनेको होइन यो प्रचण्डलाई भनेको है,” उनले भने,“युवाहरुले त देश बनाउनका लागि, देशमा जनवाद ल्याउनका लागि राम्रा सुखका दिन ल्याउनका लागि जनवादी शासन समाजवादी शासन आउँछ भन्नका लागि ती देखाएका सपना । युवाहरुको गल्ती के भयो भने प्रचण्डजस्तालाई पत्याए । अलि अलि त मैले त पत्याएँ । सपार्न सकिन्छ कि जस्तो आँट आयो क्या मलाई । सकिन्छ होला भनेर मैले पनि कोशिश गरिरहेँ । अन्तिममा त जहाँको तहीँ ।”