काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले आसन्न स्थानीय तहको निर्वाचन अन्य दलका लागि निर्वाचन मात्रै भएपनि आफ्नो पार्टीका लागि उपलब्धि जोगाउने लडाइँ भएको बताएका छन् ।
शनिबार गोरखाको बारपाक सुलिकोट गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले देशमा आफूहरुले लडेर ल्याएको उपलब्धि उल्ट्याउने षड्यन्त्र भइरहेको दाबी गरे ।
“अरुका लागि स्थानीय तहको निर्वाचन मात्र होला, माओवादी केन्द्रका लागि निर्वाचन मात्र होइन, सहिद, बेपत्ता योद्धा, लाखौँ जनताका सपनाहरु सफल पार्ने कि विफल पार्ने भन्ने लडाइँ हो,” उनले भने,“अरुलाई जित्दा वा हार्दा फरक पर्दैन, हाम्रा लागि आउँदै गरेको चुनाव लडाइँ हो । हामीले हार्दा गणतन्त्र हार्छ, समावेशी समानुपातिक, सयौँ वर्षदेखिको अत्याचारमा राखिएको वर्ग समुदायको हक अधिकार खोसिन्छ, हामीले जित्दा बच्ने छ ।”
पूर्वप्रधानमन्त्री प्रचण्डले निर्वाचनमा माओवादीलाई घेरा हाल्ने र सखाप पार्ने षड्यन्त्र भइरहेको पनि बताए । “पोहोर पनि पार्टी विघटन गरेर माओवादी सिद्ध्याउने खेल थियो, तार्गेट थियो, मिसन थियो, हामी जनताको साथ गयौँ । सडकबाट जनता लिएर त्यो सपना चकनाचुर पार्यौँ,” उनले भने,“अहिले चुनावमा त माओवादी हराउने हराइछाड्ने भनेर लागेका छन् ।”