काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीप्रति आकर्षण बढ्दा विरोधीहरु आत्तिन थालेको बताएका छन् ।
शुक्रबार अखिल नेपाल महिला संघ (समाजवादी)को काठमाडौँ जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एकीकृत समाजवादीले ६ महिनाको छोटो अवधिमा बढेको आकर्षणका कारण विरोधीहरुले मानसिक सन्तुलन गुमाएर कुप्रचार गर्न थालेको बताएका हुन् ।
“हाम्रो पार्टीप्रति बढेको आकर्षण देखेर विरोधीहरु आत्तिएका छन्, मानसिक सन्तुलन गुमाउन पुगेका छन्, आत्तिएर मन्त्री प्रेम आले र किसनकुमार श्रेष्ठ बालकोट पुगेको भनेर प्रचार गरे । हुँदै नभएको कुरामा हल्ला मच्चाउने गरेका छन् ती कुनै प्रचारमा सत्यता छैनन्,” उनले भने ।
उनले लोकतान्त्रिक मूल्य र मान्यतालाई आत्मसात गरेको पार्टी भएकाले निरंकुशताको विरोध र क्रान्तिकारी अडानमा उभिएकाले एमाले र आफ्नो पार्टीको भिन्नता नै त्यसैमा रहेको बताए ।
सत्तारुढ गठबन्धन तोड्ने प्रयास गरिरहेका केपी ओली पनि गठबन्धन बनाएर चुनावमा जान खोजेको अध्यक्ष नेपालको भनाइ छ । उनले एमाले अध्यक्ष ओली सुटुक्क पूर्वराजा ज्ञानेन्द्र शाह निवासमा पुग्ने गरेको आरोप लगाए ।
“गठबन्धन तोड्न ओली लागिपरेका छन् । उनी पनि गठबन्धन गर्दैछन् । सुटुक्क ज्ञानेन्द्रको निवासमा पुग्ने गरेका छन् । राप्रपासँग साँठागाँठ गर्न खोजिरहेका छन् । विदेशीहरुको दलाली गर्न खोज्ने पार्टीसँग तालमेल गर्न खोजिरहेका छन् । किनभने उनीहरु दक्षिणपन्थी शक्ति हुन्,” उनले भने,“दक्षिणपन्थी शक्तिहरु दक्षिणपन्थीसँग मिल्छन् । हामी वामपन्थी शक्ति हौँ । लोकतान्त्रिक र वामपन्थी शक्तिहरुसँग मिलेर अघि बढ्छौँ ।”