अहिलेको सरकार बालुवामा राखेको नक्कली मुलाजस्तो, फुत्त आउँछ : ओली

273

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई बालुवामा राखेको नक्कली मुलाको संज्ञा दिएका छन् ।

नेपाली निजामती कर्मचारी संगठनको ११औँ राष्ट्रिय महाधिवेशनलाई काठमाडौँमा शनिबार सम्बोधन गर्दै ओलीले अहिलेको सरकार जरा बिनाको मुला भएको बताएका हुन् ।

“यो केही होइन, मुलाको पनि अलिकति सानोतिने भएपनि जरा हुन्छ । यसको त जरा न फरा, पाँच जनाले नियुक्त गरेको छ । यो त बालुवामा लगेर राखेको नक्कली मुलाजस्तो हो, फुत्त आउँछ । हल्लाउनु पनि पर्दैन, यो त फुत्त आउँछ,” उनले भने ।

उनले सानो मुलाको पनि सानो जरा हुने उल्लेख गर्दै उनले अहिलेको सरकार मात्र पाँच जनाको परमादेशले बनेको सरकार भएको र यसलाई आफूहरुले खाली तान्ने दिन खोजिरहेको बताए ।

ओलीले सरकारलाई उखेल्न लाग्दा भागिरहेको उल्लेख गर्दै आगामी निर्वाचनबाट पूर्णरुपमा उखेलिने बताए । आफ्नो कार्यकालमा नेपाली कांग्रेसका नेताहरुले कर्मचारीहरुलाई सरकारलाई सहयोग नगर्न दबाब दिएको दाबी गर्दै उनले उनीहरुको सोच अलोकतान्त्रिक भएको टिप्पणी गरे ।

अध्यक्ष ओलीले निजामती कर्मचारीहरुले पूर्णरुपमा सरकारलाई सहयोग गर्नुपर्ने भन्दै सरकार ठिक बेठिक छुट्याएर नबस्न आग्रह गरे । सरकार ठिक बनाउन राजनीतिक पार्टीहरुको जन्म भएको उनको भनाइ छ ।

“यो सरकार ठिक छ कि छैन भन्ने कुरा तपाईंहरुले छुट्याउने होइन, यसलाई हामी ठिक पारिहाल्छौँ नि । आज म अपोजिसन लिडरको हैसियतमा भन्दै छु– तपाईंहरुले सरकारलाई असहयोग गर्न मिल्दैन, गभर्मेन्टलाई सहयोग गर्नुहोस् । तपाईंहरुको काम भनेको गभर्मेन्टलाई असहयोग गर्ने होइन, तपाईंहरुले साथ दिने हो, सहयोग गर्ने हो । यो गभर्मेन्ट ठिक छ कि छैन तपाईंहरुले धेरै छुट्याउने होइन । यो गभर्मेन्ट ठिक त हामी बनाइहाल्छौँ नि,” उनले भने ।

Share This:
सम्बन्धित खबर
Loading...