काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले संस्कृत विश्वविद्यालयले नवीन शैली र सोचका कार्यक्रम अघि बढाउनुपर्ने बताएका छन् ।
नेपाल संस्कृत विश्वविद्यालयको ७४औँ सभालाई सम्बोधन गर्दै उनले विकसित भइरहेका सूचना प्रविधिका नवीन उपलब्धिलाई आत्मसाथ गर्दै र आफ्नो हितमा तीनको सार्थक उपयोग गर्दै अगाडि बढ्नुपर्ने बताए ।
“शिक्षा क्षेत्रलाई कोरोनाले महत्वपूर्ण पाठ सिकाएको छ” उनले भने, “यो महाव्याधिबाट हामीलाई शिक्षाको परम्परागत शैली र संरचनालाई पुनःसंरचित गर्नुपर्ने साथै अध्ययन अध्यापनका नवीन विकल्पहरु खोज्दै जानुपर्ने आवश्यकताबोध भएको छ ।”
मौलिक स्वास्थ्य पद्धतिका रुपमा रहेका आयुर्वेद, योगविज्ञान र प्राकृतिक चिकित्साका साथै जनजातीय समुदायमा पाइने शारिरीक एवम् मानसिक स्वास्थ्यसँग सम्बन्धित तर लुप्त हुन लागेका अनेकौँ अन्तरज्ञानहरुको खोज, अनुसन्धान र संरक्षणका लागि विश्वविद्यालय क्रियाशील रहनुपर्ने बताए ।
२०२४ मा अन्तर्राष्ट्रिय संस्कृत सम्मेलन आयोजन गर्ने संस्कृत विश्वविद्यालयको प्रयास सराहनीय रहेको भन्दै मन्त्रालय सकारात्मक रहेको बताए ।
“शिक्षा जति गुणस्तरीय, प्रयोगमुखी, वैज्ञानिक र उन्नत हुन्छ, देशको स्तर र समाजको चिन्तन पनि त्यत्तिकै उच्च हुन्छ,” मन्त्री पौडेलले भने, “शिक्षाले व्यक्तिको सर्वतोमुखी विकास गरी क्षमतायुक्त, प्रतिस्पर्धि, स्वावलम्बी र उत्पादनमूलक जनशक्ति तयार गर्दछ ।”