विराटनगर । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले एमसीसीको पक्ष र एमालेले सरकारमा हुँदा गरेका कामको विपक्षमा भण्डाफोर अभियान चलाउने भनेकोमा व्यङ्ग्य गर्दै धरहरा पनि भत्काउने ? भनी प्रश्न गरेका छन् ।
मोङ्गको रंगेलीका नगर प्रमुख र उपप्रमुखलाई एमाले प्रवेश गराउन बुधबार आएका ओलीले एमाले नेतृत्वको सरकारले गरेका कामको भण्डाफोर गर्ने भनेर विकासको विरोध गर्दै हिँड्ने ? भनी प्रश्नसमेत गरे ।
ओलीले भने,“हामीले एकैचोटी ३६९ वटा अस्पताल सुरुवात गर्यौँ, केही अहिले बनिरहेका छन्, केही बजेट अहिलेको सरकारले सारेको छ । हामीले हरेक पालिका सदरमुकाम जोड्ने २६५ सडक एकैपटक शिलान्यास गर्यौँ । तिनको पनि बजेट काटिएको छ । विकास विरोधीहरुले गर्ने भण्डाफोर भनेको यही होला ।”
मिल्ने भए सत्ता गठबन्धनका मान्छेहरुले धरहरा र रानीपोखरी पनि भत्काउने भन्दै ओलीको याद आउने कुनै पनि संरचना बन्न नदिने प्रयास भइरहेको उनले बताए ।
सत्तारुढ नेपाली कांग्रेसप्रति आक्रामक देखिएको ओलीले कांग्रेस विस्तारै बुढो हुँदै गएको व्यङ्ग्य गर्दै बुढो रुख जोगाउन निर्वाचन आयोगले चुनाव चिन्ह हरियो बनाएको जिकिर गरे । उनले चुनाव चिन्ह हरियो राख्न नहुने विषयमा जोड दिए । “अब कांग्रेसमा लागेर केही हुनेवाला छैन । चुनाव चिन्ह हरियो हुँदैमा कांग्रेस बौरिँदैन,” उनले भने ।
निर्वाचन आयोगले ३० वैशाखमा हुने निर्वाचनमा मतपत्र चुनाव चिन्हको रंग हरियो बनाउने निर्णय गरेको थियो । ओलीले मंगलबार आयोजित कार्यक्रममा पनि आयोगको उक्त निर्णयको आलोचना गरेका थिए ।
एमाले अध्यक्ष ओलीले कांग्रेसलाई सुकेको रुखको संज्ञा दिए । “कांग्रेसको सुकेको बुढो रुख जोगाउन निर्वाचन आयोगले मतपत्र हरियो बनाउने निर्णय गयो । चुनाव चिन्ह हरियो हुँदैमा कांग्रेस बौरिँदैन,” ओलीले भने,“कांग्रेससँग देश बनाउने नीति पनि छैन, विचार पनि छैन । अब कांग्रेसको दाँत मात्रै झरेको होइन उसको रुखै सुकिसकेको छ ।”