निर्वाचन आयोगको निर्णयप्रति ओलीको आपत्ति : मतपत्रमा हरियो रंग किन राख्ने ?

290

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनको मतपत्रमा निर्वाचन चिन्ह हरियो राख्ने निर्वाचन आयोगको निर्णयप्रति आपत्ति जनाएका छन् ।

११२औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा अखिल नेपाल महिला संघले मंगलबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा निर्वाचन चिन्ह हरियो राख्ने निर्णय सच्चाउन पनि आयोगको ध्यानाकर्षण गराए ।

उनले कुनै पनि कारणले मतपत्रमा हरियो रंग राख्न उचित नहुने उल्लेख गरे । उनले आयोगलाई हरियो मतपत्र सच्याउन पनि भनेका छन् ।

“निर्वाचन आयोगले मतपत्रका चिन्हमा हरियो राख्ने रे । यदि त्यसो हो भने कुन हिसाबले राख्ने ? किन राख्ने ? धार्मिक हिसाबले राख्ने ? अरु हिसाबले ? आँखा नदेख्नेले चारैतिर रुखै रुख देखुन् भनेर राख्ने हो ? हरियो सरियो हुँदैन,” ओलीले आयोगको निर्णयमा आपत्ति जनाउँदै भने ।

त्यस्तै, ओलीले अदालत, संसद, निर्वाचन आयोग र सिंगो सरकार एमालेविरुद्ध लागिरहेको आरोप लगाए । पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले न्यायाधीशले कानुन हेर्न छोडेको र व्यक्तिको उद्देश्य हेरेर फैसला गरिरहेको जिकिर गरे ।

ओलीले सत्तामा रहेका दलहरुलाई ‘समृद्ध नेपाल सुखी नेपाली’को नारा मन नपरेको धारणा राखे । कार्यक्रममा ओलीले चुनावबाट सरकार बन्ने भए पनि अहिलेको सरकार परमादेशबाट बनेको भन्दै अदालतबाट मुद्दा जितेर सरकार बनाउने गलत नजिर बसेको बताए ।

“सदन, सरकार सबैतिर पढाएको पढाएकै छु, तर पनि यिनीहरु समृद्ध नेपाल सखी नेपाली भन्नै जान्दैनन् । सुगालाई त सिकायो भने भन्छ, यिनीहरुले भन्नै चाहँदैनन् । यो शब्द सुन्यो कि यिनीहरुको टाउको दुख्छ,” उनले भने । सामाजिक न्याय र समानता बचाउन नसकेकै कारण उनीहरु समृद्ध नेपाल सुखी नेपालीसँग चिर रहेको उनको भनाइ छ ।

Share This:
सम्बन्धित खबर
Loading...