बलेवा । बागलुङको काठेखोला गाउँपालिकाले असिनापानीले अन्नबालीमा क्षति पुगेका किसानलाई विभिन्न संघसंस्थाको सहयोगमा राहत उपलब्ध गराएको छ । गत वैशाख ८ गतेको भीषण असिनाबाट पीडित १ सय ६५ परिवारका लागि दसैँको समयमा राहत दिइएको हो ।
काठेखोला गाउँपालिका–२ भीमापोखराका किसानले बारीमा लगाएको मैकै, आलु, तरकारीलगायतका अन्नबाली असिनाले नष्ट गरेको थियो । गाउँपालिकाका अध्यक्ष अमर थापाले गाउँपालिका, भीमापोखरा वडा कार्यालय, बिवाइसी, सिम्रिक कृषि सहकारी, प्रगति बहुद्देश्यीय सहकारी तथा स्थानीयवासीको आर्थिक सहयोगमा दुई लाख ५० हजार ४ सय ५५ रुपैयाँ बराबरको खाद्यान्न राहत उपलब्ध गराइएको बताए ।
किसानलाई गहुँको बीउ राहतस्वरुप उपलब्ध गराउने योजना भए पनि सिम क्षेत्रका लागि आवश्यक पर्ने गहुँको बीउ खरिदका लागि उपलब्ध नभएको वडाध्यक्ष विद्यापति शर्माले जानकारी दिए ।
राहत वितरण गर्दै गाउँपालिका अध्यक्ष अमरबहादुर थापाले कोरोना महामारीको व्यवस्थापन र उपचारका लागि गाउँपालिकाले रकम खर्च गर्दा असिना पीडित किसानलाई आवश्यक मात्रामा सहयोग गर्न कठिन भएको उल्लेख गरे ।
कोरोना रोकथामका लागि क्वारेन्टाइन र आइसोलेसन व्यवस्थापनमा धेरै बजेट खर्च भएको अवस्थामा हिउँदेबालीको बिक्रीबाट दसैँ खर्च जुटाउँदै आएका किसानको बाली नै मासिएको भन्दै गाउँपालिकाले दसैँका खर्च हुने गरी राहत दिएको जनाइएको छ ।