काठमाडौँ । संघीयता सुदृढ पार्न संघ सरकार वाधक रहेको भन्दै गण्डकी र मधेस प्रदेशका मुख्यमन्त्रीले अधिकार प्राप्तिका लागि प्रदेश सरकारहरु एकमत भएर अगाडि बढुनुपर्ने बताएका छन् ।
मधेस र गण्डकी प्रदेशबीच आन्तरिक पर्यटन प्रवर्द्धनका क्रममा जनकपुरमा भएको छलफलमा बोल्दै दुवै मुख्यमन्त्रीले अधिकारको निक्षेपणमा संघीय सरकारको मानसिकता अझै पनि केन्द्रिकृत रहेकाले आगामी दिनमा हाम्रा बीचको सहकार्य अझ घनिभूत बनाइ प्रदेश सरकारलाई अधिकार सम्पन्न गराउनु आवश्यक रहेको बताए ।
कार्यक्रममा गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले राजस्वको बाँटफाँटमा केन्द्रले धेरै राखेर प्रदेशलाई उपलब्ध गराउने गरेको सानो अंशले हाम्रा विकासका आवश्कताहरु पूरा हुने अवस्था नरहेको बताए । उनले भने, ‘नेपाल सरकारले अझ पनि केन्द्रीय कार्यालयहरु हटाएको छैन । कर्मचारी समायोजनमा पर्याप्त भूमिका खेलेको छैन । शान्ति, सुरक्षालगायतका मुख्य काममा प्रदेशलाई अधिकार दिएको छैन । जसले गर्दा प्रदेश सरकार चाहेर पनि काम गर्न सक्ने अवस्थामा छैन ।’
ठुला विकासका कार्य अघि बढाउन जग्गा प्राप्तिको समस्या रहेको, विकास निर्माणमा वाधक विभिन्न कानुनी व्यवस्था आदिको सुधार तथा संशोधनमा पनि केन्द्र सरकारले ध्यान नदिएको भन्दै यसका लागि प्रदेशहरुले एक भएर आवाज उठाउनुपर्ने भनाइ उनले राखे । उनले भने, ‘ठुला विकास साझेदारको स्रोत परिचालन केन्द्रबाट हुने गरेको छ । यसमा प्रदेशको संलग्नता वृद्धि हुनु पर्दछ ।’
उनले अन्तर प्रदेश समन्वय परिषद्को बैठक नियमित बस्ने र समस्याको समाधान निकाल्ने तर्फ हामीले पनि घच्घच्याउनु आवश्यक रहेको बताए । साझा सरोकारका विषयमा समय समयमा मुख्य मन्त्रीहरुबीच छलफल गरी अनुभव तथा सहयोगको आदान प्रदान तथा संघीयताको प्रवर्द्धनका लागि स्पष्ट धारणा बनाउनु आवश्यक रहेको भन्दै उनले सबै प्रदेशका मुख्य मन्त्रीसँग समन्वय गरी उपयुक्त समयमा मुख्यमन्त्रीहरुको छलफल कार्यक्रम पोखरामा आयोजना गर्न इच्छुक रहेको उनले बताए ।
गण्डकी र मधेस प्रदेशका बीचमा धेरै समानता र सहकार्यको सम्भावना रहेको भन्दै मुख्यमन्त्री पोखरेलले प्रदेशको समृद्धि र जनताको सुखका लागि हाम्रा बीचमा सहकार्य अति आवश्यक छ रहेको भनाइ राखे ।
गण्डकी प्रदेशमा आएका पर्यटनकलाई मधे प्रदेश र प्रदेश दुईमा आएका पर्यटकलाई गण्डकी प्रदेशमा जानका लागि अभिप्रेरित गर्ने कार्य निजी क्षेत्रको अगुवाइमा अगाडि बढाउन सकिने उनको भनाइ थियो । उनले भने, ‘जल पर्यटन, कृषि पर्यटन, शिक्षा र स्वास्थ्य पर्यटनमा पनि सहकार्य गर्न सकिन्छ ।’
आपसी हितका बृहत् परियोजनाहरु जानकी, लुम्बिनी, मुक्तिनाथ र पोखरा जोडने सर्किट विकास गर्न सकिने भन्दै मुख्यमन्त्री पोखरेलले हवाई उडानलाई नियमित बनाउने र यसको क्षमता बढाउन सक्ने सम्भावना पनि रहेको बताए ।
अन्तरप्रदेश सद्भावना भ्रमणले दुई प्रदेशका बीच सहयोगको आदान प्रदान र भातृत्व भोलिका दिनमा झन् बढेर जाने विश्वास उनले व्यक्त गरे ।
मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु रावतले गण्डकीका असल अभ्यासको अनुकरण आफूहरुले गर्ने प्रतिबद्धता जनाए । प्रदेश सरकारहरुले सामूहिक रुपमा एजेन्डा बनाएर आवाज राखेको खण्डमा संघीय सरकार त्यसलाई सम्बोधन गर्न वाध्य हुने भनाइ राखे ।
संविधानले ग्यारेन्टी गरेका अधिकारलाई रोक्ने ताकत कसैसँग नरहेको भन्दै उनले यसको प्राप्तिको लागि आफूहरु लागीपर्ने भनाइ राखे । पर्यटकीय र धार्मिक सम्बन्ध कायम गर्नका लागि मधेस सरकार तयार रहेको मुख्यमन्त्री रावतले बताए ।
प्रदेशका पर्यटन मन्त्री शत्रुधन महतोले दुई प्रदेशबीचको पर्यटकीय र धार्मिक सम्बन्ध जोड्न सरकार तयार रहेको बताए ।
उक्त अवसरमा गण्डकी प्रदेश पर्यटन, उद्योग तथा आपूर्ति मन्त्रालयका सचिव ज्ञानेन्द्र पौडेल र मधेस प्रदेश उद्योग, पर्यटन तथा वन मन्त्रालयका सचिव विन्दुकुमारी मिश्रले तत्तत् प्रदेशमा पर्यटनको सम्भावनाका बारेमा प्रस्तुति राखेका थिए ।
कार्यक्रममा नाटा गण्डकी च्याप्टर अध्यक्ष सञ्जयकान्त सिग्देलले अब दुई प्रदेशबीच हवाई सम्पर्क स्थापित भएपछि पर्यटन प्रवद्र्धनमा सुधार हुने विश्वास व्यक्त गरे । नाटा मधेस च्याप्टर अध्यक्ष मोहन शर्मा लामिछानेले पोखरा र जनकपुरबीच हवाई उडान सुरु भएको दिनलाई मधेस प्रदेशले उत्सवका रुपमा मनाएको बताए ।
उद्योग वाणिज्य संघ जनकपुर पूर्व अध्यक्ष इञ्जिनियर प्रकाशचन्द्र साह, जनकपुर उपमहानगर पालिकाका मेयर लालकिशोर साह लगायतले भनाइ राखेका थिए ।