झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रदेश १ को नाम कोसी प्रदेश राख्नुपर्ने बताएका छन् ।
शनिबार झापाको विर्तामोडमा प्रेस चौतारी प्रदेश १ को पहिलो अधिवेशनलाई सम्बोधन गर्दै ओलीले मानव सभ्यताभन्दा अघिदेखि नै कोसी नदीको उत्पत्ति भएका कारण प्रदेश नम्बर १ को नाम ‘कोसी प्रदेश’ राख्नुपर्ने बताएका हुन् ।
ओलीले कोसी सभ्यताजस्तो साझा पहिचान अरु नभएको जिकिर गरे । देश विभाजन गर्नका लागि पहिचानका आधारमा संघीयता बनाउन खोजेपनि विफल पारिएको उनले बताए । ओलीले जातीय पहिचानका आधारमा नामाङ्करण गरे प्रदेशको साझा पहिचान खुल्न नसक्ने तर्क गरे ।
फरक प्रसङ्गमा ओलीले वर्तमान गठबन्धनमध्येका कसैले पनि आउँदो निर्वाचनमा एमालेसँग एक्लै मैदानमा आउने आँट नगरेको उल्लेख गरे ।