काठमाडौँ । अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट अनुमोदन भएयता सत्ता गठबन्धनका दलबीच पहिलोपटक आज बैठक बसेको छ ।
बैठक केहीबेरअघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको हो ।
बालुवाटार स्रोतका अनुसार एमसीसी प्रतिनिधिसभाबाट पारितपछिको परिस्थिति, आगामी बाटो, स्थानीय निर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न गठबन्धनका शीर्ष नेता बैठकमा बसेका हुन् ।
जारी बैठकमा नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, कांग्रेसका महामन्त्री गगन थापा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवलगायत नेता सहभागी छन् ।
एमसीसी विवादकै कारण सत्ता गठबन्धनबाट राष्ट्रिय जनमोर्चा अलग भइसकेको छ । अहिले गठबन्धनमा ४ दल मात्र छन् ।
बुधबार प्रधानमन्त्री देउवाले सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादी अध्यक्ष नेपालसँग छुट्टाछुट्टै छलफल गरेका थिए ।