काठमाडौँ । नेकपा (एमाले)का नेता डा.भीम रावलले देश, पार्टी र व्यक्तिगत स्वार्थभन्दा धेरै माथि हुने बताएका छन् ।
बुधबार सामाजिक सञ्जालमार्फत् रावलले आफूले एमसीसीबारे राखेको धारणालाई ‘हिरो’ हुन खोजेको भनी भएका टिप्पणीप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गरी एमालेले सम्झौताबारे आफ्नो धारण व्यक्त गर्दै ओलीले पार्टीका नेता भीम रावल अनुशासनहीन ढंगले हिरो बन्न खोजेको आरोप लगाएका थिए ।
‘पार्टीको काम कारबाहीभन्दा आफूलाई पृथक ढंगले प्रस्तुत गरिरहनुभएको छ । मैले अस्ति हाम्रो संसदीय दलको बैठकमा पनि भनेको थिएँ, आफूलाई व्यक्तिगत तर्फबाट हिरो देखाउन खोज्ने, कुनै पनि बाहनामा चाहे राष्ट्रवाद होस् चाहे लोकतन्त्र होस् वा अरु बाहानामा हाम्रो पार्टीले लिएका नीति सही छन् त्यसको विरुद्धमा पृथक देखिएर गर्ने क्रियाकलापहरू अनुशासनभित्र पर्दैनन्’ अध्यक्ष ओलीले भने, ‘भीम रावल हाम्रो पार्टीको सल्लाहकार परिषदको सदस्य हो । उहाँले आत्मकेन्द्रित, आत्मप्रचारक भएर अनुचित र अनुशासनहीन काम गर्दै आउनुभएको छ ।’
त्यसको जबाफ दिँदै उनले अध्यक्ष केपी शर्मा ओलीले ‘देशको पक्षमा बोलेर ‘महाहिरो’ भएको भए आफू खुसी हुनेथिएँ’ भनेका छन् ।
“राष्ट्रिय स्वाधीनता र हितको पक्षमा जननिर्वाचित प्रतिनिधिको कर्तव्य अनुरुप संसदमा बोल्दा मैले ‘हिरो’ हुनखोजेको भनी मन पोलेको भए पार्टी अध्यक्षले आफैँ देशको पक्षमा बोलेर ‘महाहिरो’ हुनुभएको भए म खुशी नै हुनेथिएँ,” उनले ट्विटरमा लेखेका छन्,“देश पार्टी र व्यक्तिगत स्वार्थभन्दा धेरै माथि हुन्छ, चेतना भया ।”