काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले आफ्ना पार्टीका नेता नारायणकाजी श्रेष्ठले एमसीसी पारित भएपछि विरोध गरेकोमा आलोचना गरेका छन् । श्रेष्ठले विवाद बाहिर राखेर गलत गरेको प्रचण्डले बताएका हुन् ।
संसद्बाट एमसीसी पास भएको भोलिपल्ट खुमलटारमा भएको पत्रकार सम्मेलनमा बोल्दै उनले श्रेष्ठलाई पार्टीमा आफ्नो फरक मत राख्न अनुरोध गरेको भए पनि उनले नमानेको बताए । श्रेष्ठलाई केन्द्रीय समितिको बैठकमा आफ्नो मत राख्ने अधिकार भएको प्रचण्डको भनाइ छ ।
उनले महाकाली सन्धिलाई सम्झिँदै एमसीसीको विरोध गर्दैमा माओवादी कार्यकर्ता नारायणकाजीको पछाडि नजाने बताए । उनले महाकाली सन्धिका बेलामा वामदेव गौतमले विपक्षमा उभिएर पार्टी फुटाएको भए पनि पछि चुनावमा एक सिट पनि नआएको स्मरण गराए ।
“मतभेद राख्ने अधिकार हुन्छ पार्टीमा सबैको एकमत त हुन्न । तपाईं केन्द्रीय समितिमा राख्नुस भने, उहाँलाई बाहिर नभन्नुस् भने । तर, उहाँले बाहिर राख्नुभयो । उहाँलाई यसो गर्दा पार्टीका सबै कार्यकर्ता मतिर आउँछन् जस्तो लागेको छ । यदि त्यसो भएको भए महाकाली सन्धिमा वामदेव झन्डै आधा कार्यकर्ता लिएर जानुभयो तर पछि चुनावमा एक सिट पनि आएन,” उनले भने ।
नेता श्रेष्ठले एमसीसी पास गर्ने सुनियोजित षड्यन्त्र भएको भन्दै नेतृत्वको सार्वजनिक रुपमा आलोचना गरेका थिए । श्रेष्ठले एमसीसी पारित भएको दिनलाई ‘कालो दिन’को संज्ञा दिएका थिए ।