काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले सरकारले राष्ट्रिय स्वाधिनता र अखण्डताप्रति कुनै गलत सम्झौता नगर्ने स्पष्ट पारेका छन् ।
प्रतिनिधिसभा बैठकमा आइतबार एमसीसीको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जबाफ दिँदै उनले राष्ट्रियता र स्वाधिनता सबै नेपालीका लागि महत्वपूर्ण रहेको बताए ।
नेपाल कुनै पनि मुलुकको सैन्य रणनीतिको हिस्सेदार हुनै नसक्ने उल्लेख गर्दै अर्थमन्त्री शर्माले एमसीसीलाई विकास परियोजनाका रुपमा लागु गर्न सरकार क्रियाशील रहेको बताए ।
संविधान, लोकतन्त्रको रक्षा गर्ने उद्देश्यले सरकार बनेको भन्दै उनले नेपालले सबै मुलुकसँग समान व्यवहार गर्ने बताए । अर्थमन्त्री शर्माले संसद्मा टेबुल भएको एमसिसी सम्बन्धित सम्झौतामाथिको बृहत् छलफल गर्न आग्रह गरे ।
उनले एमसिसी सम्झौताका सम्बन्धमा सांसदहरूले उठाएको जिज्ञाशा, सडकमा उठेका आवाज र जनताको चासो चिन्तामा सरकारको गम्भीर ध्यानाकर्षण भएको बताए ।
त्यस्तै अर्थमन्त्री शर्माले सम्झौताका सम्बन्धमा अन्तर्राष्ट्रिय अभ्यास र प्रचलित कानुनमा भएको व्यवस्थाअनुसार व्याख्यात्मक व्यवस्था गर्न लागिएको बताए।
अर्थमन्त्रीको जबाफपछि उक्त सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ ।