ओली भेट्न बालकोट पुगे गृहमन्त्री खाण

239

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गृहमन्त्री बालकृष्ण खाण बालकोट पुगेका छन् ।

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)मा सहमति जुटाउने अन्तिम प्रयास भइरहेका बेला गृहमन्त्री खाण ओली निवास बालकोट गएका हुन् । भेटमा सत्ता गठबन्धन र एमसीसीबारे छलफल हुने बताइएको छ ।

त्यस्तै, ८ गते एमाले अध्यक्ष ओलीलाई लक्षित गर्दे एमसीसी विरोधी प्रदर्शनकारीले ढुंगा हानेको विषयमा पनि कुराकानी हुने बताइएको छ । ओलीले आफू लक्षित गर्दै ढुंगा प्रहार भएपछि गृहमन्त्रीको भूमिकामाथि प्रश्न उठाएका थिए ।

प्रधानमन्त्री शेरबहादुर देउवा र ओलीबीच मंगलबार भेटवार्ता भएको थियो । ओलीले देउवासँग झन्डै २ घन्टा कुराकानी गरेका थिए । तर, छलफलको प्रमुख विषय एमसीसीका सन्दर्भमा कुनै स्पष्ट जबाफ दिएनन् ।

एमाले नेता विष्णु रिजालका अनुसार गठबन्धनबाट आफ्नो सरकारलाई सहयोग नमिलेकाले एमसीसी अनुमोदन गराउन एमालेले सघाउनुपर्ने देउवाको आग्रह थियो ।

तर, एमाले अध्यक्ष ओलीले भने पहिले आफूहरुको माग पूरा हुनुपर्ने अडान कायम राखेका छन् । एमाले विभाजन गरी बनेको नेकपा (एकीकृत समाजवादी)का १४ जना सांसद्लाई कारबाही हुनुपर्ने माग ओलीले पुनः स्मरण गराए । जुन माग अगाडि सारेर एमालेले सदन अबरुद्ध गर्दै आइरहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...