काठमाडौँ । राष्ट्रवादी केन्द्र नेपालले एमसीसीविरुद्ध फागुन १२ गते आन्दोलन गर्ने भएको छ ।
मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर केन्द्रले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, राष्ट्रिय स्वाधिनताका लागि भद्र प्रतिरोध आन्दोलन सुरु गर्न लागेको जानकारी दिएको हो ।
यही फागुन ८ गते संसद्मा टेबल भएको एमसीसी सम्झौता राष्ट्रघाती सम्झौता भन्दै उक्त केन्द्रले घोर भत्र्सनासमेत गरेको छ ।
नेपालको संविधान र मातहतका कुनैपनि कानुनले एमसीसीलाई व्याख्या, नियन्त्रण र निर्देशन गर्न नपाउने, संसद्बाट पारित भए पुनः सशोधन गर्न नमिल्नेलागायतका असमान, राष्ट्रघाती सार्वभौमसत्ता र स्वतन्त्र राष्ट्रको विरुद्ध यो सम्झौता रहेको उक्त केन्द्रले जनाएको छ ।
केन्द्रका प्रवक्ता शैलेन्द्र महतले नेपाललाई सधैँ नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, राष्ट्रिय स्वाधिनता राख्नका लागि शान्तिपूर्ण आन्दोलन गर्न लागेको बताए ।
उनले आफूहरु प्रहरीलाई जबरजस्ती गरेर ढुंगामुढा नगरी निषेधित क्षेत्रमा नजाने पनि बताए । उनले आन्दोलन हिंसात्मक नहुने स्पष्ट पारे । शान्तिपूर्ण धर्ना बसेर गरेको आन्दोलनलाई राज्यले प्रताडित नबनाउने, दमन नगर्ने पनि उनले विश्वास गरे ।
एमसीसी सम्झौतामा भएका बुँदाहरु नेपालका लागि राष्ट्रिय तथा क्षेत्रीय हितविरुद्ध रहेकाले देशभक्त नेपालीलाई सैह्य नहुने उनको भनाइ थियो ।
एमसीसीलाई राष्ट्रघातीको संज्ञा दिँदै महतले सम्झौतालाई खारेज गराइ राष्ट्रिय स्वाधीनताको रक्षाका लागि राष्ट्रवादी केन्द्र नेपालले देशव्यापीरुपमा प्रतिरोध अभियान सुरुवात गरेको उनले जानकारी दिए ।