काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)बारे झुटको पर्दा उघारिन थालेको बताएका छन् ।
सोमबार पत्रकारसँगको भेटघाटमा कांग्रेस प्रवक्ता महतले अहिले संसद्मा टेबल गरिएको एमसीसी सम्झैता पास भएमा अमेरिकी सेना आउने अफवाह गलत भएको टिप्पणी गरे ।
“अमेरिकी सेना आउने भए एमसीसी चाहिँदैन । अमेरिकी सेनाको काम छैन ? अमेरिकी सेना पुगेको देशबाट त फर्किरहेका छन्,” उनले भने ।
एमसीसी सम्झौताबाट आउने रकम सैन्य परियोजनामा खर्च गर्न नपाइने उल्ले गरेको पनि उनले बताए ।
“एमसीसी सैन्य परियोजनामा खर्च गर्न पाइँदैन भन्ने सम्झौता भएको छ, अनि कसरी सेना आउँछ । अमेरिकाको काम छैन ? अहिले जस्तो कहिले पनि यस्तो दुष्प्रचार गरिएको थिएन,” उनले भने,“अहिले एमसीसी पाएका देशमा अमेरिकी सेना गएको छैन, नेपालमा एमसीसी आउनेबित्तिकै सेना कसरी आउँछ ?”
उनले अहिले संसद्मा टेबल गरिएको बताउँदै एमसीसी अमेरिकी कंग्रेसले स्थापना गरेको उल्ले गरे । अमेरिकाले विकासशील देशको पूर्वाधारका क्षेत्रमा एमसीसीमार्फत् सहयोग गर्न लागेको पनि बताए ।
“हामीले नै निवेदन दिएको हो । माओवादी नेता डा.बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा परराष्ट्रमन्त्री नारायणकाजी भएको समयमा नेपालमा एमसीसी अघि बढेको हो,” उनले भने,“केपी ओली सरकारमा भएको समयमा यसलाई संसद्मा अनुमोदन गर्न ल्याएको थियो ।”
फागुन १२ गतेपछि एमसीसी कसरी पारित हुन्छ र सत्ता गठबन्धनको स्थिति के हुन्छ भन्ने निर्णय हुने उनको भनाइ छ । गठबन्धन टुट्दैन भन्नेमा आफूहरु विश्वस्त रहेको उनले बताए ।
डा.महतले एमालेसँग पनि कुरा भएको भन्दै यो मुद्दासँग जोडेर राजनीति नगर्न आग्रह गरे । उनले संसद्मा कुनै मुद्दामा चित्त नबुझेमा छलफल गर्न सकिने तर एमसीसी टुंगो लगाउनका लागि लाग्न आग्रह गरे ।
उनले वाम गठबन्धनले मन्त्रिपरिषद्बाट पास गरेर संसद्मा दर्ता गरेको जानकारी दिए । “अहिले विरोध गर्ने सबै पहिला एमसीसी पास गर्नुपर्छ भन्ने पक्षमा थिए, कोही अछुतो छैनन् पास गर्नु हुँदैन भन्ने,” उनले थपे ।
एमसीसी पारित गर्नका लागि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ स्वयंले समय मागेको भन्दै उनले अन्तर्राष्ट्रिय विश्वासमा समेत आँच आएको बताए ।
उनले एमसीसीलाई लिएर नेपालमा अपरिपक्व खेल भएको बताए । नेपालको सन्दर्भ लिएर अमेरिका र चीन बोल्नु पर्ने अवस्था यहीँका दलबाट भएको उनको भनाइ थियो ।