काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)मा अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)बारे चर्को विवाद भएपछि केन्द्रीय सचिवालय बैठक बोलाइएको छ ।
बैठक सोमबार दिउँसो २ बजेका लागि बोलाइएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
यसअघि गत शनिबार बसेको एकीकृत समाजवादीको स्थायी कमिटी बैठकले एमसीसी संसद्मा पेस गर्न दिने तर संशोधनबिना पास नगर्ने निर्णय गरेको थियो । तर, पार्टीका सम्मानित नेता झलनाथ खनालले एमसीसी संसद्मा पेस गर्न दिने निर्णय नै नगरेको भन्दै चर्को असन्तुष्टि जनाएका थिए ।
आफ्नो सहमतिविपरीत एमसीसी टेबल गर्न सहमति जनाएको भन्दै खनालले बडा प्रतिक्रिया जनाएका थिए ।उनले आइतबारको संसद बैठकमा एमसीसी टेबुल हुँदासमेत उठेर विरोध गरेका थिए ।